एपीएफ स्कुलको ११ करोड हिनामिनाः कल्पना र लिलाको म्याद १० दिन थपियो
१० साउन, काठमाडौं । कीर्तिपुरस्थित एपीएफ स्कुलको ११ करोड रुपैयाँ हिनामिना गरेको आरोपमा सशस्त्र प्रहरीको इन्स्पेक्टर कल्पना गुरुङसहित उनका साथि नेकपा एमाले नेता लीलाबहादुर लामालाई थप १० दिन हिरासतमा राख्न विशेष अदालतले अनुमति दिएको छ ।
विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसुाद पौडेल, हमेन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलाशले गुरूङ र लामालाई थप १० दिन म्याद थपका लागि अनुमति दिएको हो । यसअघि जिल्ला प्रहरी परिसर काठमाडौँले हेरिरेहेको मुद्दा अहिले अख्तियार दुरूपयोग अनुसन्धान आयोगले हेरिरहेको छ। उनीहरू असार २० गते पक्राउ परेका थिए ।
विद्यालयमा लेखा अधिकृत रहेकी इन्स्पेक्टर गुरुङ र उनका साथी लामा मिलेर रकम हिनामिना गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएपछि उनीहरूलाई पक्राउ गरेर अनुसन्धान जारी राखिएको छ । सशस्त्र प्रहरीले कानुन शाखाका डीआइजी युवराज अर्यालको नेतृत्वमा सो सम्बन्धमा छानबिन गर्न समिति गठन गरेको थियो ।

७ करोडको हिसाब नमिलेपछि खुल्यो रहस्य
प्रकरणको सुरुआत २०८२ साल माघ–फागुन महिनाको आर्थिक विवरण परीक्षणका क्रममा भयो । नियमित लेखापरीक्षणका बेला करिब ७ करोड रुपैयाँको हिसाब नमिलेपछि सशस्त्र प्रहरीले आन्तरिक छानबिन थालेको थियो। अनुसन्धानको क्रममा ११ करोड भन्दा बढी हिनामिना भएको पाइएको छ ।
अनुसन्धानका क्रममा एपीएफ स्कुलले केन्द्रीय कल्याणकारी कोषमा दाखिला गर्नुपर्ने रकम कोषमा नपुगेर तेस्रो व्यक्तिको खातामा जम्मा हुने गरेको तथ्य फेला परेको छ। प्रारम्भिक अनुसन्धानअनुसार इन्स्पेक्टर गुरुङले रकम लीलाबहादुर लामाको खातामा पठाउने र उक्त रकम मिटर ब्याजमा परिचालन हुने गरेको देखिएको छ।

प्रकाशित मिति : July 26, 2026 at 4:38 pm



