१० श्रावण २०८३, आइतबार | Sun Jul 26 2026

ग्लोबल आईएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्न सकिने

१० साउन, काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा बैंक खाता खोल्न सकिने सुविधा सार्वजनिक गरेको छ। अब राष्ट्रिय परिचयपत्र भएका नेपाली नागरिकले नागरिक एपमार्फत नै ग्लोबल आईएमई बैंकमा व्यक्तिगत बचत खाता खोल्न सक्नेछन्।

बैंकका अनुसार नागरिक एपमा आबद्ध नेपाली नागरिकले राष्ट्रिय परिचयपत्रको विवरण प्रयोग गरी एपमार्फत बैंकको वेबसाइटमा उपलब्ध क्यूआर कोड स्क्यान गरेर खाता खोल्ने प्रक्रिया सुरु गर्न सक्नेछन्।

यसका लागि नागरिक एप प्रयोगकर्ताले बैंक खाता खोल्न आवश्यक क्यूआर कोड उल्लेख गरिएको लिंकमा क्लिक गरी आवश्यक विवरण भर्न सक्ने व्यवस्था गरिएको छ। खाता खोल्ने प्रक्रियामा बैंकले नागरिक एपबाट सुरक्षित रूपमा व्यक्तिगत विवरण प्राप्त गर्ने जनाएको छ।

बैंकले यस व्यवस्थाबाट ग्राहकले पुनः व्यक्तिगत विवरण प्रविष्ट गर्नुपर्ने झन्झट हट्ने, ग्राहकको गोपनीयता तथा सूचनाको सुरक्षा सुनिश्चित हुने विश्वास व्यक्त गरेको छ।नागरिक एपमार्फत खोलिएको खाताको सञ्चालनका लागि ग्राहकले आफ्नो नजिकको ग्लोबल आईएमई बैंकको शाखा कार्यालयमा गई वा भिडियो केवाईसीमार्फत प्रमाणीकरण गर्नुपर्नेछ।

बैंकले सरकारी डिजिटल पूर्वाधारको प्रयोग गर्दै सुरक्षित, सरल र भरपर्दो डिजिटल बैंकिङ सेवा विस्तार गर्ने उद्देश्यले यो सुविधा सञ्चालनमा ल्याएको जनाएको छ। ग्लोबल आईएमई बैंक पछिल्लो समय डिजिटल बैंकिङ सेवाको विस्तारमा सक्रिय रहँदै आएको छ। बैंकले यसअघि पनि डिजिटल फोनपे क्रेडिट कार्ड, नागरिक लक्षित बचत खाता, डिजिटल बैंकिङ सेवा, मोबाइल बैंकिङमार्फत विभिन्न सेवा लगायतका सुविधा सञ्चालनमा ल्याएको जनाएको छ।

ग्लोबल आईएमई बैंक निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो, जसले देशका ७७ वटै जिल्लामा शाखा सञ्जाल विस्तार गरेको छ। हाल बैंकले ३४२ शाखा कार्यालय, ३६८ एटीएम, १४७ शाखारहित बैंकिङ सेवा, ६९ एक्सटेन्सन काउन्टर र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयमार्फत सेवा प्रदान गर्दै आएको छ।

प्रकाशित मिति : July 26, 2026 at 1:22 pm