माछापुच्छ्रे बैंकको वरिष्ठ नायब सीईओमा अर्याल र नायब सीईओमा जमरकटेल
४ साउन, काठमाडाैं। माछापुच्छ्रे बैंक लिमिटेडले दुई उच्च तहका अधिकारीलाई बढुवा गरेको छ। बैंकको साउन ४ गते बसेको सञ्चालक समितिको बैठकले नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) प्रसिद्धराज अर्याललाई वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीईओ) तथा नायब महाप्रबन्धक सुभाष जमरकटेललाई नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) पदमा बढुवा गर्ने निर्णय गरेको हो।
काठमाडाैं विश्वविद्यालयबाट व्यापार प्रशासन संकायमा स्नातकोतर गरेका अर्यालसँग कर्जा, ट्रेजरी तथा करेसपोन्डेन्ट बैंकिङ्ग, शाखा संचालन र लघुवित्त जस्ता विभिन्न बैंकिङ क्षेत्रमा करिब दुई दशक भन्दा बढिको अनुभव, ज्ञान तथा उत्कृष्ट नेतृत्व दक्षता रहेको छ । अर्याल यसअघि सिभिल बैंक, सनराइज बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकमा समेत विभिन्न पदमा कायर्रत रही बैंकिङ क्षेत्रकै एक अनुभवी बैंकरका रूपमा परिचित छन् ।

यस्तै, वित्तिय तथा बैंकिङ क्षेत्रमा विशेषज्ञता हासिल गरेका जमरकटेल एक दक्ष तथा अनुभवी चार्टर्ड एकाउन्टेन्टका रूपमा परिचित छन् । उनले इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ इन्डियाबाट चार्टर्ड एकाउन्टेन्सी तथा नेपालको त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन र कानून विषयमा स्नातक तहको उपाधि हासिल गरेका छन् । साथै, उनले एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी (एआईटी) थाइल्याण्डबाट बैंकिङ तथा फाइनान्स विषयमा प्रोफेसनल मास्टर्स डिग्री समेत हासिल गरेका छन् ।
प्रकाशित मिति : July 20, 2026 at 5:55 pm





