३ श्रावण २०८३, आइतबार | Sun Jul 19 2026

नेप्लिज एसोसिएसन अफ नर्दर्न टेरिटोरीको नव निर्वाचित कार्यसमितिको सपथ

डार्विन (अष्ट्रेलिया) — अष्ट्रेलियाको नर्दर्न टेरिटोरीमा क्रियाशील नेपालीहरूको संस्था ‘नेप्लिज एसोसिएसन अफ नर्दर्न टेरिटोरी’ (NANT) को सन् २०२६–२०२८ कार्यकालका लागि नवनिर्वाचित कार्यसमितिलाई एक विशेष कार्यक्रमबीच शपथ ग्रहण तथा पद हस्तान्तरण गरिएको छ।

डार्विनमा आयोजित उक्त विशेष समारोहमा निर्वाचन समितिका प्रमुख दिनेश सापकोटाले नवनिर्वाचित पदाधिकारी तथा कार्यसमिति सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको थियो।

नयाँ कार्यसमिति र पदाधिकारीहरूमा महिला उपाध्यक्ष: नम्रता शर्मा, उपाध्यक्ष: सन्तोष खड्का, महासचिव: अनुपम ढुंगाना, सह–महासचिव: संगम तामाङ, कोषाध्यक्ष: सन्दीप भुसाल, सह–कोषाध्यक्ष: उमाकान्त घिमिरे, कार्यसमिति सदस्यहरूमा: रोशन खटिवडा, रवि पौडेल, शुभम ढकाल, दर्पण भट्टराई र दिपेशराज बराल रहनु भएको छ ।

अध्यक्ष पदको निर्णय विधान अनुसार हुने: यसपटकको निर्वाचनमा अध्यक्ष पदका लागि कुनै पनि उम्मेदवारी वा निर्वाचन नभएकाले, नान्टको मौजुदा विधान अनुसार नवनिर्वाचित कार्यसमितिले नै संवैधानिक प्रक्रिया पूरा गर्दै आगामी अध्यक्षको चयन गर्ने जानकारी कार्यक्रममा दिइएको छ।

समारोहमा निवर्तमान अध्यक्ष प्रतिभा देवकोटाले आफ्नो कार्यकाल सम्झिँदै भावुक रूपमा बिदाइ लिनुभयो। उहाँले आफ्नो कार्यकालभरि साथ, सहयोग र विश्वास गर्ने सम्पूर्ण नेपाली समुदाय, स्वयंसेवक, प्रायोजक तथा विभिन्न संघ–संस्थाप्रति हार्दिक आभार व्यक्त गर्नुभयो।

संस्थागत पारदर्शिताको परम्परालाई कायम राख्दै निवर्तमान कोषाध्यक्ष रोशन खटिवडाले संस्थाको आर्थिक विवरण प्रस्तुत गर्नुभयो र सम्पूर्ण वित्तीय अभिलेख नयाँ कार्यसमितिलाई औपचारिक रूपमा हस्तान्तरण गर्नुभयो। कार्यक्रमको सञ्चालन निवर्तमान महासचिव कल्पना पाण्डेले गर्नुभएको थियो।

कल्याणकारी कोषको ५५ हजार डलर मुद्दती खातामा

नेतृत्व हस्तान्तरणकै अवसरमा एनआरएनए एनटी सामाजिक कल्याण समिति (SWC) ले पनि आफ्नो कार्यकालको आर्थिक विवरण नयाँ नेतृत्वलाई बुझाएको छ। समितिका अध्यक्ष बाबुराम भट्टराईले सहयोग गर्ने सबै स्वयंसेवक, दातृ संस्था तथा समर्थकप्रति धन्यवाद व्यक्त गर्दै आफ्नो कार्यकालमा करिब ७३ हजार अष्ट्रेलियन डलर संकलन भएको जानकारी दिनुभयो। सो रकममध्ये ५५ हजार डलर बैंकमा मुद्दती निक्षेप (Fixed Deposit) मा सुरक्षित राखिएको र एनआरएनए एनटी एवं नान्टको आपसी सहकार्यमा सामाजिक क्षेत्रमा धेरै महत्वपूर्ण कामहरू सम्पन्न भएको उहाँले प्रष्ट पार्नुभयो।

कार्यक्रममा एनआरएनए एनटीका संयोजक त्रिलोचन सापकोटाले नवनिर्वाचित कार्यसमितिलाई सफल र प्रभावकारी कार्यकालको शुभकामना व्यक्त गर्नु भएको थियो ।

त्यस्तै, एनआरएनए एनटीका पूर्वअध्यक्ष विष्णु चापागाईं तथा नान्टका पूर्वअध्यक्ष सुदीप श्रेष्ठले आफ्नो नेतृत्वकालका अनुभवहरू साझा गर्दै नयाँ पुस्ताको नेतृत्वलाई आवश्यक परेको जुनसुकै बेला पनि सहयोग, सुझाव र बलियो साथ रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

प्रकाशित मिति : July 19, 2026 at 2:47 pm