३ श्रावण २०८३, आइतबार | Sun Jul 19 2026

एनएमबी बैंक र सूचना प्रविधि विभागबीच डाटा आदानप्रदान गर्ने सम्झौता

३ साउन, काठमाडौं। एनएमबी बैंकले नेपाल सरकारको सूचना प्रविधि विभाग (डिओआईटी) सँग नागरिक एपमार्फत सुरक्षित तथा सहमतिमा आधारित (कन्सेन्ट–बेस्ड) डाटा आदानप्रदान सेवा कार्यान्वयन गर्न समझदारी गरेको छ। यससँगै बैंकका ग्राहकले थप सहज, छिटो र सुरक्षित डिजिटल बैंकिङ सेवा प्राप्त गर्ने भएका छन्।

समझदारीअनुसार अब एनएमबी बैंकका ग्राहकले नागरिक एपमा रहेको प्रमाणित व्यक्तिगत विवरण अनलाइन बैंकिङ आवेदन फाराममा सुरक्षित रूपमा स्वतः भर्न (अटोफिल) सक्नेछन्। यसले बारम्बार व्यक्तिगत विवरण टाइप गर्नुपर्ने झन्झट हट्नुका साथै कागजी प्रक्रिया कम हुने र बैंकिङ सेवा प्राप्त गर्ने समय पनि उल्लेख्य रूपमा घट्ने बैंकले जनाएको छ।

बैंकका अनुसार यो प्रणाली पूर्ण रूपमा ग्राहकको सहमतिमा आधारित हुनेछ। ग्राहकले नागरिक एपमार्फत स्पष्ट अनुमति दिएपछि मात्र आवश्यक विवरण बैंकसँग साझा हुनेछ। ग्राहकको अनुमति बिना कुनै पनि व्यक्तिगत विवरण पहुँच वा आदानप्रदान नहुने र प्राप्त जानकारी पनि सम्बन्धित सेवा प्रदान गर्ने प्रयोजनका लागि मात्र प्रयोग गरिने व्यवस्था गरिएको छ।

एनएमबी बैंकले यो सहकार्यलाई आफ्नो डिजिटल रूपान्तरण यात्राको महत्वपूर्ण उपलब्धिका रूपमा लिएको जनाएको छ। नेपालको विकसित हुँदै गएको डिजिटल सार्वजनिक पूर्वाधार (डिजिटल पब्लिक इन्फ्रास्ट्रक्चर) को उपयोगमार्फत बैंकिङ सेवालाई थप सुरक्षित, सहज, छरितो र सबै नागरिकको पहुँचमा पुर्‍याउने उद्देश्य रहेको बैंकको भनाइ छ।

प्रकाशित मिति : July 19, 2026 at 11:10 am