चिन्टुहरूको ठगीमा प्रहरीको ब्रेक, पक्राउ परे नाै कन्सलटेन्सी सञ्चालक
२६ असार, काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई) का उच्च शिक्षा मन्त्रालयअन्तर्गतको कमिसन फर एकेडेमिक एक्रिडिटेसन (CAA) बाट स्वीकृति नपाएका कलेजमा नेपाली विद्यार्थी पठाई ठगी गरेको आरोपमा प्रहरीले नौ जना कन्सल्टेन्सी सञ्चालकलाई पक्राउ गरेको छ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा कन्सल्टेन्सी सञ्चालन गर्दै आएका उनीहरूले यूएईका गैरमान्यताप्राप्त कलेजमा अध्ययन गराएपछि फ्रान्स, अष्ट्रेलियालगायतका मुलुकका विश्वविद्यालयमा क्रेडिट ट्रान्सफर हुने भन्दै विद्यार्थीलाई झुक्यानमा पारेर आर्थिक ठगी गरेको जनाएको छ ।
प्रहरीले मुलुकी अपराध संहिता, २०७४ अन्तर्गतको ठगीसम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएपछि बिहीबार उनीहरूलाई पक्राउ गरी थप अनुसन्धान अघि बढाएको जनाएको छ।

पक्राउ पर्नेमा डिल्लीबजारस्थित एजुपोर्ट प्रा. लि.का सञ्चालकहरू रुपक कोइराला, राजेश भण्डारी र सन्तोष खतिवडा रहेका छन्। त्यस्तै, पुतलीसडकस्थित वेस्टफोर्ड एजुकेशन प्रा. लि.का सञ्चालक चिन्टु श्रेष्ठ (सोनी श्रेष्ठ), बानेश्वरस्थित प्रोप एभिएसन प्रा. लि.का सञ्चालकहरू सुरेन्द्र महर्जन, दिवस पोखरेल, मनित आचार्य र शेखर पाण्डे तथा कालिमाटीस्थित एस्पायर ग्लोबल प्रा. लि.का सञ्चालक विशाल चापागाईं पनि पक्राउ परेका छन्।
प्रहरीका अनुसार आरोपितहरूले यूएईका आधिकारिक मान्यता नपाएका शैक्षिक संस्थामा अध्ययन गराउँदा भविष्यमा अन्तर्राष्ट्रिय विश्वविद्यालयबाट शैक्षिक मान्यता र क्रेडिट ट्रान्सफर प्राप्त हुने भनी विद्यार्थीलाई भ्रममा पारी आर्थिक लाभ लिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।


प्रकाशित मिति : July 10, 2026 at 11:20 pm





