२५ असार २०८३, बिहिबार | Thu Jul 9 2026

फेसबुक ह्याक गरी आफन्तसँग रकम मागेर ठग्ने नुवाकोटका युवक पक्राउ

२५ असार, काठमाडौँ । सामाजिक सञ्जाल फेसबुक ह्याक गरी पीडितको परिचय प्रयोग गर्दै आफन्त तथा साथीभाइसँग रकम मागेर ठगी गर्ने आरोपमा एक युवक पक्राउ परेका छन्।

नेपाल प्रहरी साइबर ब्युरोले नुवाकोटको लिखु गाउँपालिका–४ स्थायी घर भई हाल काठमाडौँ महानगरपालिका–१६ बालाजु बस्दै आएका १९ वर्षीय विवेक सुनारलाई पक्राउ गरेको जनाएको छ।

ब्युरोका अनुसार पीडितले आफ्नो फेसबुक खाता ह्याक भई आफ्नो नाम र परिचय दुरुपयोग गरेर आफन्त तथा साथीभाइसँग विभिन्न बहानामा रकम मागिएको भन्दै उजुरी दिएका थिए। सोही उजुरीका आधारमा गरिएको प्राविधिक अनुसन्धान तथा डिजिटल विश्लेषणबाट विवेक सुनारको संलग्नता खुलेपछि उनलाई पक्राउ गरिएको हो।

पक्राउ परेका सुनारलाई असार २४ गते नियन्त्रणमा लिई विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिइएको साइबर ब्युरोले जनाएको छ।

साइबर ब्युरोले सामाजिक सञ्जालका प्रयोगकर्तालाई आफ्नो फेसबुक तथा अन्य डिजिटल खाताको सुरक्षा सुनिश्चित गर्न बलियो पासवर्ड प्रयोग गर्न, दुई तहको सुरक्षा (टु–फ्याक्टर प्रमाणीकरण) अपनाउन तथा शंकास्पद गतिविधि देखिए तत्काल प्रहरीमा जानकारी गराउन आग्रह गरेको छ।

प्रकाशित मिति : July 9, 2026 at 10:49 pm