२४ असार २०८३, बुधबार | Wed Jul 8 2026

सिभिल अस्पतालको औषधि खरिदमा २ करोड ९१ लाख भ्रष्टाचार, ८ जनाविरूद्ध मुद्दा दायर

२४ असार, काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले काठमाडौंको मीनभवनस्थित निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल) मा औषधि खरिदमा भ्रष्टाचार भएको भन्दै ८ जनाविरूद्ध मुद्दा दर्ता गरेको छ।

औषधि खरिदमा भ्रष्टाचार भएको भन्दै अख्तियारले ८ जनाविरूद्ध  जनही २ करोड ९१ लाख ३४ हजार ५४७ रुपैयाँ ३७ पैसा बिगो कायम गर्दै बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।अस्पतालको फार्मेसी शाखाका इन्चार्ज, अधिकृत र स्टोर किपरहरूको मिलेमतोमा म्याद गुज्रेका औषधिहरू फिर्ता नगरी र सम्झौता अनुसार आपूर्तिकर्ता फर्मको धरौटी रकम कट्टा नगरी सरकारी सम्पत्ति हानिनोक्सानी गरेको आयोगले आराेप छ ।

dainiki.com

आयोगले अस्पतालका फार्मेसी अधिकृत दिपा ढुंगाना, सहायक लवेन्द्र कुँवर, दिनेश पन्त, दिपक सापकोटाविरुद्ध मुद्दा दायर गरेको छ । त्यस्तै, फार्मेसी युनिटका स्टोरकिपरहरू वरिष्ठ फार्मेसी सहायक विनोद पोखरेल, वरिष्ठ फार्मेसी सहायक शर्मीला श्रेष्ठ, फार्मेसी सहायक केशव राज न्यौपाने र फार्मेसी सहायक सन्दिप तिवारीविरूद्ध पनि मुद्दा दायर गरिएको हो।

अस्पतालको फार्मेसी शाखाका कर्मचारीहरूले औषधि आपूर्तिकर्तासँगको मिलेमतोमा अस्पतालमा औषधि आपूर्ति नै नगरी बिलभरपाइ मिलाएर भ्रष्टाचार गरेको अनुसन्धानबाट खुलेको आयोगले जनाएको छ । अख्तियारका अनुसार कर्मचारीहरूले सफ्टवेयरमा औषधिको इन्ट्री गरे पनि वास्तवमा औषधि भित्र्याएका थिएनन्।अस्पतालको स्टोर र भर्याङमुनि करोडौं मूल्यका औषधि म्याद गुज्रिएर फालेको अवस्थामा भेटिएको, तर कम्प्युटरमा भने ती औषधिहरू स्टक देखाइएको पाइएको छ ।

प्रकाशित मिति : July 8, 2026 at 5:35 pm