२४ असार २०८३, बुधबार | Wed Jul 8 2026

इरानसँगको युद्धविराम समाप्त भएको ट्रम्पको घोषणा, वार्ता समयको बर्बादी

२४ असार, अङ्कारा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग भएको युद्धविराम अब समाप्त भएको घोषणा गर्दै तेहरानसँग थप कुनै सम्झौता गर्ने इच्छा नरहेको बताएका छन् । अमेरिकी सेनाले इरानमा रातारात व्यापक आक्रमण गरेपछि र त्यसको जवाफमा इरानले खाडी क्षेत्रमा रहेका अमेरिकी सैन्य आधारलाई लक्षित गरी आक्रमण गरेको दाबी सार्वजनिक भएका बेला ट्रम्पको यो अभिव्यक्ति आएको हो ।

टर्कीको राजधानी अङ्कारामा जारी नाटो शिखर सम्मेलनका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै ट्रम्पले इरानसँगको युद्धविराम अब आफ्नो दृष्टिमा समाप्त भइसकेको स्पष्ट पारे। उनले इरानी नेतृत्वमाथि कडा टिप्पणी गर्दै तेहरानसँग अब वार्ताको कुनै औचित्य नरहेको धारणा व्यक्त गरे ।

ट्रम्पले इरानसँग थप सम्झौता गर्न चाहना नरहेको बताउँदै तेहरानले आणविक हतियार प्राप्त गरे त्यसको प्रयोग गर्न पछि नपर्ने आरोप पनि लगाए । उनले इरानी नेतृत्वलाई अविश्वसनीय र हिंसात्मक प्रवृत्तिको भएको आरोप लगाउँदै आफू अब उनीहरूसँगको वार्तालाई समयको बर्बादी ठान्ने बताए ।

dainiki.com

उनले आफ्ना विशेष दूत स्टिभ विटकफ र ज्वाइँ जारेड कुसनर इरानसँग सम्पर्कमा रहे पनि वार्ता पुनः सुरु गर्ने कि नगर्ने निर्णय अब तेहरानकै हातमा रहेको उल्लेख गरे ।
ट्रम्पले जुन १७ मा वासिङ्टन र तेहरानबीच भएको युद्धविरामसम्बन्धी सहमतिलाई इरानले पटक–पटक गलत रूपमा प्रस्तुत गरेको आरोपसमेत लगाए । उनका अनुसार दुवै पक्षबीच इरानले आणविक हतियार विकास नगर्ने विषयमा सहमति भए पनि इरानले त्यसलाई सार्वजनिक रूपमा अस्वीकार गर्दै आएको छ ।

ट्रम्पको युद्धविराम समाप्त भएको घोषणापछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य करिब पाँच प्रतिशतले बढेको छ र यसले मध्यपूर्वको पछिल्लो तनावले विश्व ऊर्जा बजारमा समेत असर पार्न थालेको सङ्केत गरेको छ ।

प्रकाशित मिति : July 8, 2026 at 4:02 pm