२१ असार २०८३, आइतबार | Sun Jul 5 2026

एपीएफ स्कुलको ११ करोड हिनामिनामा एमाले नेता लिला लामा पक्राउ

२१ असार, काठमाडौं । कीर्तिपुरस्थित एपीएफ स्कुलको ११ करोड रुपैयाँ हिनामिना गरेको आरोपमा इन्स्पेक्टर कल्पना गुरुङसहित उनका साथि नेकपा एमाले नेता लीलाबहादुर लामा पनि पक्राउ परेका छन् ।  गुरुङ एपीएफ स्कुलमा लेखा प्रमुखको रूपमा कार्यरत थिइन् । उनीहरू शनिबार ठमेलबाट पक्राउ परेका हुन् ।

विद्यालयमा लेखा अधिकृत रहेकी इन्स्पेक्टर गुरुङ र उनका साथी लामा मिलेर रकम हिनामिना गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएपछि उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरीले कानुन शाखाका डीआइजी युवराज अर्यालको नेतृत्वमा सो सम्बन्धमा छानबिन गर्न समिति गठन गरेको थियो । सिआईबी स्रोतका अनुसार सशस्त्र प्रहरीका डीआईजी युवराज अर्यालको संयोजकत्वमा गठित छानबिन समितिले पेश गरेको प्रतिवेदनका आधारमा शनिबार दुवै जनालाई पक्राउ गरिएको हो। उनीहरूलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा बुझाइएको छ।

७ करोडको हिसाब नमिलेपछि खुल्यो रहस्य

प्रकरणको सुरुआत २०८२ साल माघ–फागुन महिनाको आर्थिक विवरण परीक्षणका क्रममा भयो। नियमित लेखापरीक्षणका बेला करिब ७ करोड रुपैयाँको हिसाब नमिलेपछि सशस्त्र प्रहरीले आन्तरिक छानबिन थालेको थियो।

dainiki.com

अनुसन्धानका क्रममा एपीएफ स्कुलले केन्द्रीय कल्याणकारी कोषमा दाखिला गर्नुपर्ने रकम कोषमा नपुगेर तेस्रो व्यक्तिको खातामा जम्मा हुने गरेको तथ्य फेला परेको स्रोतको दाबी छ। प्रारम्भिक अनुसन्धानअनुसार इन्स्पेक्टर गुरुङले रकम लीलाबहादुर लामाको खातामा पठाउने र उक्त रकम मिटर ब्याजमा परिचालन हुने गरेको देखिएको छ।

डीएसपी हमालको भूमिकामाथि गम्भीर शंका

अनुसन्धानले केन्द्रीय कल्याणकारी कोषमा कार्यरत डीएसपी महेन्द्र हमालको भूमिकामाथि पनि प्रश्न उठाएको छ। स्रोतका अनुसार उनी आठ वर्षदेखि एउटै जिम्मेवारीमा कार्यरत थिए, जबकि सशस्त्र प्रहरीको आन्तरिक मापदण्डले लेखा तथा आर्थिक प्रशासनमा कार्यरत कर्मचारीलाई दुई आर्थिक वर्षभन्दा बढी एउटै स्थानमा राख्न नहुने व्यवस्था गरेको छ।

छानबिनमा एपीएफ स्कुलबाट कल्याणकारी कोषमा जम्मा हुनुपर्ने करिब ९ करोड रुपैयाँ जम्मा नहुनुमा हमाल र गुरुङबीच मिलेमतो भएको आशंका गरिएको छ। यद्यपि यस विषयमा अन्तिम निष्कर्ष आउन बाँकी छ।

प्रकाशित मिति : July 5, 2026 at 11:48 am