१८ असार २०८३, बिहिबार | Thu Jul 2 2026

एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ

१८ असार, काठमाडौं । असई थमन विक हत्या प्रकरणमा पाँच वर्ष कैद सजाय पाएका नेकपा (एमाले) का पूर्वप्रतिनिधिसभा सदस्य लक्ष्मी महतो कोइरी बिहीबार साँझ पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डीएसपी पञ्चलाल गोलेका अनुसार महतोलाई महोत्तरीको गौशाला नगरपालिका–५ स्थित एमाले पार्टी कार्यालय अगाडिबाट साँझ करिब ६ बजे पक्राउ गरिएको हो।

उच्च अदालत जनकपुरले बुधबार जिल्ला अदालत महोत्तरीको फैसला उल्ट्याउँदै महतोलाई पाँच वर्ष कैद सजाय सुनाएको थियो। मुख्य न्यायाधीश टेकनारायण कुँवर र न्यायाधीश मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले महतोसँगै अभिराम शर्मा, धर्मेन्द्र राय, रामशंकर मिश्र, सुरेश पाण्डे र पवन कापरलाई पनि जनही पाँच वर्ष कैद सजाय हुने फैसला गरेको हो।

यसअघि जिल्ला अदालत महोत्तरीले महतो र पवन कापरलाई सफाइ दिएको थियो। त्यस्तै अभिराम शर्मा, धर्मेन्द्र राय, रामशंकर मिश्र र सुरेश पाण्डेलाई जन्मकैदको सजाय सुनाएकोमा उच्च अदालतले उक्त फैसला संशोधन गर्दै पाँच वर्ष कैद सजाय कायम गरेको छ।

यता, प्रदीप साह माझी, सञ्जयकुमार साह र मोहन ठाकुरलाई जिल्ला अदालतले सुनाएको जन्मकैदको सजाय भने उच्च अदालतले सदर गरेको छ।

जिल्ला अदालत महोत्तरीले २०८० मंसिर २८ गते महतोलाई सफाइ दिएको थियो। तर उच्च अदालतले उक्त फैसला उल्ट्याएसँगै उनी दोषी ठहर भएका हुन्।

२०७२ भदौ २५ गते महोत्तरीमा भएको असई थमन विकको हत्या प्रकरणमा तत्कालीन एमालेका प्रतिनिधिसभा सदस्य महतोसहित २८ जनाविरुद्ध २०७५ साउन २८ गते कर्तव्य ज्यान मुद्दा दर्ता भएको थियो।

प्रकाशित मिति : July 2, 2026 at 8:48 pm