एडिलेडमा बालबालिकाका लागि विशेष योग सत्र सम्पन्न, २७ विद्यार्थी सहभागी
एडिलेड (साउथ अष्ट्रेलिया) — अन्तर्राष्ट्रिय योग दिवस २०२६ को अवसर पारेर साउथ अष्ट्रेलियाको एडिलेडमा बालबालिकाहरूका लागि एक विशेष योग कार्यक्रम ‘योगा फन सेसन फर द लिटिल वन्स’ (Yoga Fun Session for the Little Ones) सफलतापूर्वक सम्पन्न भएको छ। नेपाली एङ्गेजमेन्ट एण्ड प्रोफेसनल्स एशोसिएसन (नेपा), अष्ट्रेलियाली आयुर्वेद संघ (AAA) र नेपाली पाठशाला एडिलेडको संयुक्त आयोजनामा नेपाली पाठशालामा आयोजित उक्त सत्रमा २७ बालबालिकाहरुले उत्साहका साथ सहभागी भएका थिए। कार्यक्रम अवधिभर बालबालिकाहरू निकै ऊर्जावान् देखिन्थे भने उनीहरूको हाँसो र योगको सहज प्रवाहले वातावरण निकै रमाइलो बनेको थियो।
बालबालिकाहरूलाई योगतर्फ आकर्षित गर्न र उनीहरूलाई बुझिने गरी प्रमाणित योग प्रशिक्षक मेरिडिथ (Meredith) ले सत्रको कुशल सहजीकरण गर्नुभएको थियो। उहाँले विभिन्न बाल-अनुकूल योगासन र खेलहरूका माध्यमबाट सहभागी साना विद्यार्थीहरूलाई मनोरञ्जनात्मक ढंगले योगको अभ्यास गराउनुभएको थियो।
नेपाका अध्यक्ष डा. निगम पौडेलले बालबालिकाका लागि योगको महत्त्वबारे प्रकाश पार्दै भन्नुभयो, “साना नानीबाबुहरूलाई योगसँग परिचित गराउने यो एक सुन्दर अवसर हो। योगको अभ्यास जति अरूका लागि सान्दर्भिक र फाइदाजनक छ, बालबालिकाका लागि पनि त्यत्तिकै आवश्यक छ।”
कार्यक्रमको समापन गर्दै आयोजक टोलीका तर्फबाट ईश्वरी अधिकारीले धन्यवाद ज्ञापन गर्नुभएको थियो। उहाँले कार्यक्रम सफल बनाउन महत्त्वपूर्ण भूमिका खेल्नुहुने प्रशिक्षक मेरिडिथ, नेपाली पाठशालाका प्रधानाध्यापक चन्द्रमणि पाण्डे र विद्यालयका सचिव शशि पोखरेलप्रति हार्दिक आभार व्यक्त गर्नुभयो।
कार्यक्रमको व्यवस्थापन नेपाका सदस्यहरू सन्तोष सापकोटा, सुदीप रिजाल र मनोज अधिकारीको गर्नु भएको थियो । आगामी पुस्ताका नेपाली-अष्ट्रेलियाली बालबालिकाहरूमा योगको आनन्द र ज्ञान हस्तान्तरण गर्न यो कार्यक्रम एउटा अर्थपूर्ण सुरुवात भएको र भविष्यमा पनि यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिइने आयोजकले जनाएका छन्।
प्रकाशित मिति : June 25, 2026 at 2:14 pm









