११ असार २०८३, बिहिबार | Thu Jun 25 2026

नेपाल बैंकको खराब कर्जा भएका ऋणीले असारसम्म ऋण चुक्ता गर्दा ब्याज छुट पाउने

११ असार, काठमाडौं । नेपाल बैंकले आफ्ना कर्जा ग्राहकहरूलाई लक्षित गर्दै ब्याज छुट सहितको विशेष ऋण चुक्ता योजना सार्वजनिक गरेको छ । बैंकले एक अत्यन्त जरुरी सूचना जारी गर्दै खराब कर्जा भएका र नियमित किस्ता तिर्न बाँकी रहेका ग्राहकहरूका लागि ऋण राफसाफ गर्ने यो अवसर प्रदान गरेको हो ।

बैंकका अनुसार, वि.सं. २०७९ साल चैत्र मसान्तभन्दा अगाडि नै ‘खराब’ वर्गमा वर्गीकरण भएका वा अपलेखित भइसकेका १ करोड रुपैयाँसम्म बक्यौता साँवा भएका ग्राहकहरूले यो सुविधा पाउनेछन् ।

dainiki.com

यस्ता ग्राहकहरूले असार मसान्तभित्र योजना अनुसार कर्जा चुक्ता गरेमा विशेष ब्याज छुट प्राप्त गर्न सक्ने बैंकले जनाएकाे छ। बैंकले सम्बन्धित ग्राहकहरूलाई यो सुवर्ण अवसरको लाभ उठाई आफ्नो वित्तीय दायित्व पूरा गर्न आग्रह गरेको छ ।

त्यसैगरी, वि.सं. २०८० साल वैशाख १ गते पश्चात् निष्क्रिय वा सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूका लागि पनि बैंकले सहुलियतको व्यवस्था गरेको छ । यस्ता ग्राहकहरूले यही असार मसान्तभित्र आफ्नो बक्यौता साँवा र ब्याज बुझाई कर्जा चुक्ता गरेमा वा खाता नियमित गरेमा पनि ब्याज छुट प्रदान गरिने सूचनामा उल्लेख छ । यस योजनामा बैंकका निश्चित शर्तहरू भने लागू हुने बैंकले जनाएकाे छ ।

प्रकाशित मिति : June 25, 2026 at 10:30 am