७ कार्तिक २०८३, शुक्रबार | Fri Oct 23 2026

विदेशी मुद्रा सञ्चिति ३७ खर्ब रुपैयाँ नाघ्यो, २२ महिनाको आयात धान्ने

२६ जेठ, काठमाडौं । नेपालको कुल विदेशी विनिमय सञ्चिति ३७ खर्ब रुपैयाँ नाघेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को १० महिनासम्मको तथ्यांकअनुसार विदेशी विनिमय सञ्चिति ३८.३ प्रतिशतले वृद्धि भई २०८३ वैशाख मसान्तसम्म ३७ खर्ब ४ अर्ब ५५ करोड रुपैयाँ पुगेको हो । २०८२ असार मसान्तमा यस्तो सञ्चिति २६ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँ रहेको थियो ।

राष्ट्र बैंकका अनुसार अमेरिकी डलरमा यस्तो सञ्चिति २०८२ असार मसान्तमा १९ अर्ब ५० करोड रहेकोमा २०८३ बैशाख मसान्तमा २४.० प्रतिशतले वृद्धि भई २४ अर्ब १९ करोड पुगेको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८२ असार मसान्तमा २४ खर्ब १४ अर्ब ६४ करोड रहेकोमा २०८३ बैशाख मसान्तमा ३६.६ प्रतिशतले वृद्धि भई ३२ खर्ब ९८ अर्ब ३८ करोड पुगेको छ ।

dainiki.com

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८२ असार मसान्तमा २ खर्ब ६३ अर्ब ४ करोड रहेकोमा २०८३ बैशाख मसान्तमा ५४.४ प्रतिशतले वद्धि भई ४ खर्ब ६ अर्ब १७ करोड कायम भएको छ । २०८३ बैशाख मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २०.६ प्रतिशत रहेको छ ।

 आर्थिक वर्ष २०८२/८३ को दश महिनासम्मको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति २२.६ महिनाको वस्तु आयात र १९.२ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

२०८३ बैशाख मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः ६०.७ प्रतिशत, १५९.७ प्रतिशत र ४३.३ प्रतिशत रहेका छन् । २०८२ असार मसान्तमा उक्त अनुपातहरू क्रमशः ४३.८ प्रतिशत, १२८.१ प्रतिशत र ३४.१ प्रतिशत रहेका थिए ।

प्रकाशित मिति : June 9, 2026 at 5:57 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/