रेमिट्यान्समा वृद्धि, वैशाखमै भित्रियो २ खर्ब ५७ अर्ब
२६ जेठ, काठमाडाैं । देश भित्रिने रेमिट्यान्समा ऐतिहासिक वृद्धि देखिएको छ। चालु आवको १० महिनासम्ममा १९ खर्ब भन्दा बढी रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार चालु आवको बैशाख मसान्तसम्म रेमिट्यान्स ४१.२ प्रतिशतले बढेर १९ खर्ब १६ अर्ब ९० करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यो वृद्धिदर जम्मा १३.३ प्रतिशत मात्र थियो।
वैशाख महिनामा मात्रै विप्रेषण आप्रवाह २ खर्ब ५७ अर्ब ४९ करोड रुपैयाँ रहेकाे छ । अघिल्लो वर्षको वैशाखमा १ खर्ब ६५ अर्ब ३० करोड रुपैयाँ मात्र विप्रेषण आप्रवाह रहेको थियो । समीक्षा अवधिमा डलरमा रेमिट्यान्स ३३ प्रतिशतले बढेर १३ अर्ब २६ करोड डलर पुगेको छ। रेमिट्यान्ससँगै देशको खुद द्वितीय आय (खुद ट्रान्सफर) पनि अघिल्लो वर्षको १४ खर्ब ८० अर्ब २८ करोडबाट बढेर २० खर्ब ९१ अर्ब ८६ करोड रुपैयाँ पुगेको छ।

राष्ट्र बैंकका अनुसार नयाँ श्रम स्वीकृति लिएर विदेश जाने नेपालीको संख्या भने गत वर्षको ४ लाख ५ हजार ६१० बाट घटेर यसपटक ३ लाख ३५ हजार ५१० मा सीमित भएको छ। तर, पुराना र अनुभवी कामदारहरू पुनः श्रम स्वीकृति लिएर विदेशिने क्रम भने बढेको छ। यसपालि पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख ८० हजारबाट बढेर ३ लाख २६ हजार ३६४ पुगेको छ।
प्रकाशित मिति : June 9, 2026 at 5:46 pm









