ईश्वरी हत्याको अभियोगमा नेपाली ब्रोसँग जोडिएकी प्रतिक्षा आचार्यसहित तीन जना पक्राउ
२४ जेठ, काठमाडौं । काठमाडौँको तारकेश्वर नगरपालिका-६, लोलाङ, पैँयुटारमा जेठ २२ गते राति भएको ईश्वरी भुजेलको हत्या आरोपमा थप ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । ईश्वरीको धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोपमा मुख्य अभियुक्त उनका पति ‘नेपाली ब्रो’ भन्ने कुमार थापा मगर हिजै पक्राउ परेका थिए ।

उक्त घटनामा अरु पनि संलग्न भनी ईश्वरीका माइती पक्षले दिएको जाहेरीका आधारमा अन्य ३ जनालाई पक्राउ गरिएको एसपी पवनकुमार भट्टराईले बताए । पक्राउ पर्ने अन्य अभियुक्तहरूमा ३६ वर्षीय विक्रम थापा मगर, ४० वर्षीय पुजन थापा क्षेत्री र जुम्ला घर भई गोकर्णेश्वर बस्ने २५ वर्षीया प्रतिक्षा आचार्य रहेका छन् । आचार्य नेपाली ब्रोसँग जोडिएको युवती भएको बताइएको छ । उनीहरूको हत्याका लागि उक्साएको बुझिएको छ ।
उनीहरू चारैजनालाई काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी हिरासतमा राखिएको एसपी भट्टराईले बताए । उनीहरूमाथि कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति : June 7, 2026 at 6:24 pm









