प्रभु बैंकद्वारा अन्नपूर्ण माध्यमिक विद्यालयलाई स्मार्ट बोर्ड हस्तान्तरण
२४ जेठ, काठमाडाैं । प्रभु बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रमअन्तर्गत गोरखास्थित श्री अन्नपूर्ण माध्यमिक विद्यालयलाई स्मार्ट बोर्ड हस्तान्तरण गरेको छ। गण्डकी बिजनेस सेन्टरको समन्वय तथा पालुङटार शाखाको पहलमा विद्यालयलाई उक्त सामग्री प्रदान गरिएको बैंकले जनाएको छ।
शिक्षामा प्रविधिको पहुँच विस्तार गर्दै विद्यार्थीहरूलाई आधुनिक तथा गुणस्तरीय शिक्षासँग जोड्ने उद्देश्यले विद्यालयलाई स्मार्ट बोर्ड उपलब्ध गराइएको हो। बैंकका अनुसार यस सहयोगले विद्यालयको शिक्षण–सिकाइ प्रक्रियालाई थप प्रभावकारी, अन्तरक्रियात्मक र प्रविधिमैत्री बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
डिजिटल प्रविधिको प्रयोग बढ्दै गएको वर्तमान समयमा विद्यार्थीहरूलाई आधुनिक शिक्षण विधिसँग परिचित गराई भविष्यका लागि सक्षम, दक्ष र प्रतिस्पर्धी जनशक्ति तयार पार्न यस्ता पहल आवश्यक रहेको बैंकको विश्वास छ। स्मार्ट बोर्डको प्रयोगबाट शिक्षकहरूलाई पाठ्यवस्तु प्रस्तुत गर्न सहज हुने तथा विद्यार्थीहरूको सिकाइमा समेत सकारात्मक प्रभाव पर्ने जनाइएको छ।
प्रभु बैंकले शिक्षा, नवप्रवर्तन तथा समुदाय विकासलाई आफ्नो सामाजिक उत्तरदायित्वको प्रमुख क्षेत्रका रूपमा अघि बढाउँदै आएको छ। बैंकले विभिन्न विद्यालय, स्वास्थ्य संस्था तथा समुदाय लक्षित कार्यक्रममार्फत सामाजिक विकासमा योगदान पुर्याउने प्रयास गरिरहेको जनाएको छ।
विद्यालयमा आयोजित हस्तान्तरण कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक, विद्यार्थी तथा स्थानीय सरोकारवालाहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागीहरूले बैंकको सहयोगप्रति आभार व्यक्त गर्दै यसले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए।
बैंकले आगामी दिनमा पनि शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण तथा सामुदायिक विकासका क्षेत्रमा यस्ता सामाजिक उत्तरदायित्व कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।
प्रकाशित मिति : June 7, 2026 at 10:41 am









