१९ जेष्ठ २०८३, मंगलबार | Tue Jun 2 2026

वीरगञ्ज नाकाबाट दलहन आयात २२ प्रतिशतले घट्यो, १० महिनामा सात अर्ब ९७ करोडको आयात

१९ जेठ, वीरगञ्ज । चालु आर्थिक वर्षको १० महिनामा वीरगञ्ज नाका हुँदै रु सात अर्ब ९७ करोड बराबरको दलहन आयात भएको छ । यहाँबाट विभिन्न सात प्रकारका दलहन नेपाल आयात गरिएको हो । गत आवको १० महिनाको तुलनामा चालु आवको सोही अवधिमा यो नाकाबाट हुने आयातमा मूल्यको आधारमा रु दुई अर्ब २४ करोड अर्थात् २२ प्रतिशतले गिरावट आएको छ । जबकी गत आवको १० महिनामा यहाँबाट रु १० अर्ब २१ करोड मूल्यका दलहन आयात गरिएको थियो ।

वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले चालु आवको १० महिनामा मूल्यको आधारमा दलहनको आयात २२ प्रतिशतले कमी आएको बताउनुभयो । यस अवधिमा रु तीन अर्ब २० करोड मूल्य पर्ने मुसुरोको दाल आयात भएकामा गत आवको १० महिनामा रु चार अर्ब ५० करोडको मुसुरो दाल आयात भएको थियो ।

यसैगरी, चालु आवका १० महिनामा रु दुई अर्ब चार करोड मूल्य पर्ने सिसी/राजमा आयात भएको छ । गत वर्ष सोही अवधिमा भने रु दुई अर्ब ७४ करोडको सिमी/राजमा आयात भएको थियो । चालु आवको १० महिनामा रु एक अर्ब ९२ करोड मूल्यको चना आयात भएको छ भने गत आवको सोही अवधिमा भने रु दुई अर्ब १७ करोडको आयात भएको थियो । चालु आवको १० महिनामा रु ४२ करोड मूल्यको अन्य गेडागुडी आयात भएको छ भने गत आवको सोही अवधिमा रु ४५ करोड ८८ लाखको आयात भएको सूचना अधिकारी विष्टले जानकारी दिए ।

प्रकाशित मिति : June 2, 2026 at 11:59 am