जन्मदर्ता, नागरिकता, रहदानीमा कीर्ते : एमाले नेता राजेशमान सिंह पक्राउ
१९ जेठ, काठमाडौँ । नेकपा एमालेका नेता एवं वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंह पक्राउ परेका छन । कीर्ते गरेर नागरिकता दिलाएको अभियोगमा उनी पक्राउ परेका हुन ।
सिंह सोमबार बिहान पर्साको ठोरीबाट पक्राउ परेको प्रहरीले जनाएको छ । सिंहले अर्काकी छोरीलाई नक्कली हस्ताक्षर गरी जन्मदर्ता, नागरिकता, रहदानी बनाइदिएका थिए । लिखित सम्बन्धिको कसुरमा मेयर राजेशमान सिंहसहित उनकी दोश्रो भनिएकी श्रीमती, उनकी छोरी र पञ्जीकरण अधिकारी समेतलाई प्रतिवादी बनाई मुद्दा दायर भएको थियो । तीनैजना विरुद्ध पक्राउ पुर्जी जारी भएको छ।

२०८० सालमै मेयरको कीर्तेको विषयमा समाचार सार्वजनिक भए पनि एमालेको नाममा सत्ताको संरक्षण लिएर सिंह जोगिदै आएका थिए । प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले मेयर सिंहविरुद्ध झुठा विवरण पेश गरी नागरिकता बनाइदिएको र लिखतसम्बन्धी कसुरमा २र२ वटा मुद्दा दायर गरेको छ ।
मुलुकी अपराध संहिता २०७४ अनुसार किर्ते कागजको दफा २७६ को उपदफा १, २ र ३ ९ग० बमोजिम सरकारी वा सार्वजनिक लिखित कसुर गर्नेलाई सात वर्षसम्म कैद र सत्तरी हजार रुपैयाँसम्म जरिवाना हुन्छ ।
सिंह गत माघमा एक महिनामै दुई पटक नेकपा एमाले प्रवेश गरेका थिए । उनी त्यसअघि जसपा नेपालको नेता थिए । माघ ४ गते पूर्वमन्त्री इस्तियाक राईसहित उनी एमाले प्रवेश गरेका थिए । उनी पहिलो पटक भक्तपुरको गुण्डुमा केपी शर्मा ओलीको निवासमै पुगेर एमाले प्रवेश गरेका थिए त्यसपछि माघ २० गते एमाले उपाध्यक्ष रामबहादुर थापा बादलले पर्सा नै पुगेर दोस्रो पटक एमाले प्रवेश गराएका थिए ।

प्रकाशित मिति : June 2, 2026 at 9:03 am









