वैदेशिक मुद्राको पर्याप्त सञ्चितिलाई उपयोग गर्दै केही प्रतिशत रकम ‘सोभरेन वेल्थ फन्ड’ बनाइने
१५ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत कृत्रिम बुद्धिमत्ता (एआई), स्वच्छ ऊर्जा, डिजिटल पूर्वाधार तथा वित्तीय क्षेत्र सुधारलाई उच्च प्राथमिकतामा राख्दै नेपाललाई क्षेत्रीय प्रविधि हवका रूपमा विकास गर्ने रणनीतिक योजना अघि सारेको छ ।
सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा स्वर्णिम वाग्लेले ‘स्वच्छ ऊर्जा बन्ड’ र ‘डायस्पोरा बन्ड’ जारी गरी जलवायु कोषको अधिकतम उपयोग गर्ने नीति लिएको जानकारी दिए ।
उनले बजेटमा वैदेशिक मुद्राको पर्याप्त सञ्चितिलाई उपयोग गर्दै केही प्रतिशत रकम ‘सोभरेन वेल्थ फन्ड’ का रूपमा परिचालन गरिने घोषणा गरे । यस्तै, बजेटमार्फत कम्तीमा तीन महिनाको इन्धन भण्डारण, एआई फ्याक्ट्रीलगायत रणनीतिक महत्वका परियोजनामा लगानी गर्न ‘मातृभूमि कोष’ स्थापना गर्ने योजना अगाडि सारिएको छ ।
विदेशी ऋण वा लगानीमा सञ्चालित योजनाको विनिमय जोखिम न्यूनीकरण गर्न आगामी आर्थिक वर्षदेखि हेजिङ सेवा उपलब्ध गराउने अर्थमन्त्री वाग्लेले घोषणा गरे ।
प्रकाशित मिति : May 29, 2026 at 5:12 pm









