१५ पुष २०८२, मंगलवार | Tue Dec 30 2025

रूपन्देहीको सैनामैनामा राष्ट्रिय सीप विकास प्रतिष्ठान बन्ने, मन्त्री विष्टद्वारा जग्गा अवलोकन

७ फागुन, वुटवल । रुपन्देहीको सैनामैनामा राष्ट्रिय स्तरको सीप विकास केन्द्र स्थापना हुने भएको छ । सैनामैना नगरपालिकाको वडा नम्बर ७ लम्टैयामा रहेको जग्गामा यस्तो केन्द्र बनाउन प्रस्ताव गरिएको थियो । सीपयुक्त दक्ष जनशक्ति उत्पादन गर्ने र त्यसलाई उत्पादनमा जोड्ने उद्देश्यका साथ देशभर तीन स्थानमा यस्ता सीप विकास केन्द्र स्थापना गर्ने सरकारको तयारी अनुरुप यहाँ बन्न लागेको हो ।

प्रस्तावित जग्गाको मंगलबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्णराज विष्टसहितको टोलीले निरिक्षणसमेत गरेको छ । प्रस्तावित जग्गामा प्राविधिक अध्यय्न भने यसअघि नै भइसकेको थियो । मंगलबार मन्त्रीसहितको टोलीले विशेष अवलोकन गरेपछि यहीँ स्थानमा केन्द्र बन्ने लगभग पक्का भएको छ ।

विदेशी कामदारलाई प्रतिस्थापन गरी गरिबी न्यूनिकरण गर्न ठोस योगदान पु¥याई सीपयुुक्त जनशक्ति उत्पादन गर्ने र देशको बेरोजगारी समस्यालाई समाधान गर्ने सरकारको लक्ष्य छ । हाल नेपालमा करिब पाँच लाख जति विदेशी कामदारहरु रहेको अनुमान छ । नारायणी पश्चिमका सबै क्षेत्रलाई समेट्ने गरि सैनामैनामा यो केन्द्र बन्ने छ भने त्यसका अतिरिक्त पूर्वको इटहरीमा र अर्को केन्द्र संघीय राजधानी काठमाण्डौंमा बन्ने भएका छन् ।

‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय श्रम बजारमा प्रतिस्पर्धा गर्न सक्ने दक्ष र सीपयुक्त जनशक्ति तयार गरी बेरोजगारी घटाउने सरकारको लक्ष्य हो’ मन्त्री विष्टले भन्नुभयो । सैनामैना नगरपालिका वटा उपलब्ध गराइएको ४० विघा क्षेत्रफमा निर्माण हुने प्रतिष्ठानको मंगलबार अवलोकन गर्दै श्रम, रोजगार तथा सामाजिक विकास मन्त्री विष्टले जग्गा उपयुक्त रहेको बताउनुभयो ।

उहाँले सीपयुक्त दक्ष जनशक्ति निर्माण गरेर उत्पादनमा लगाउने र सोही ठाउँमा थप प्रशिक्षक निर्माण गरेर प्रशिक्षणलाई विस्तार गर्ने गरि केन्द्रको अध्यय्न भइरहेको बताउनुभयो ।  ‘स्वदेशी तथा विदेशी श्रम बजारमा प्रतिस्पर्धा गर्न सक्ने उद्यमशील, दक्ष, सीपयुक्त, श्रमशक्ति विकास गरी बेरोजगारी न्यूनिकरण गर्न सघाउने लक्ष्य रहेको छ’ मन्त्री विष्टले भन्नुभयो, ‘यस्का लागि स्थानीय तहको सरकार, निजी क्षेत्र, सहकारी क्षेत्रसंग सहकार्यसमेत गरिने छ ।’ केन्द्रबाट उत्पादित प्रशिक्षकहरुलाई सबै पालिकास्तरमा खटाउने गरि योजना बनाइएको उहाँको भनाइ छ । ‘सरकारको दीर्घकालिन योजना अनुसार समृद्धिको अभियानमा जोड्ने गरि काम सुरु भएको छ’ मन्त्री विष्टले भन्नुभयो, ‘राष्ट्रिय श्रम बजार धान्ने र अन्तर्राष्ट्रिय श्रम बजारसंग प्रतिस्पर्धा गर्न सक्ने गरि जनशक्ति उत्पादन गरिने छ ।’

दक्ष र सक्षम जनशक्ति उत्पादन गरेर यहीँ काममा जोड्ने लक्ष्यका साथ सरकारले दीर्घकालिन योजनाका काम गरिरहेको बताउँदै मन्त्री विष्टले जनशक्तिको विदेश पलायन रोक्ने र यहीँ उत्पादनमा जोड्ने लक्ष्यका साथ यस्तो केन्द्र बनाउने तयारी गरिएको जानकारी दिनुभयो । करिव एक सय विघा क्षेत्रफलमा आवासीय सुविधासहितको सीप विकास केन्द्र निर्माण गर्नेगरि डिजाइन भइरहेको र यो चरणबद्ध रुपमा बन्दै जाने उहाँले बताउनुभयो ।

सैनामैना नगरपालिकाका प्रमुख चित्रबहादुर कार्कीले पूर्व राजमार्गबाट नजिकै र यहाँका अरु पालिकाहरुसंग पनि समन्वय गर्न सहज हुने गरि सैनामैनामा जग्गा प्रस्तावित गरिएको बताउनुभयो । उहाँले नगरपालिकाबाट प्रदान गरिएको ४० विघा जग्गा अपुग भएमा थप जग्गा समेत प्रदान गर्न सक्ने गरि सम्बन्धित निकायमा कुरा गरिसकेको बताउनुभयो ।

सीप विकास केन्द्रका लागि जग्गा प्राप्तीको चरण सकिएको छ । केही समयमा नै विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाउने काम सुरु हुने बताइएको छ । डीपीआर लगत्तै भौतिक पूर्वाधार निर्माणका कामहरु अगाडि बढाउने गरि तयारी भइरहेको मन्त्रालयले जनाएको छ । यो संगै रोजगारीका अवसर तथा सम्भावनाहरुको समेत उजागर गर्दै निर्धारित क्षेत्रमा निश्चित अवधिभित्र सीपयुक्त श्रमशक्ति तयार गर्ने सरकारको लक्ष्य रहेको मन्त्री विष्टले बताउनुभयो ।

केन्द्रमार्फत सीप तथा व्यावसायिक तालीमका अवसरहरु वृद्धि गरी यस्ता तालीमहरु सेवाग्राहीको निकटमै सञ्चालन गर्ने र स्वरोजगारको अवसर सिर्जना गर्ने वातावरण तयार पारिने छ । नेपालमा कार्यरत विदेशी श्रमिकलाई सीपयुक्त नेपाली श्रमिकबाट क्रमशः प्रतिस्थापन गर्दै जानेगरि सीप विकास केन्द्रको अवधारणा बनाइएको मन्त्री विष्टले बताउनुभयो ।

जग्गा निरिक्षणका क्रममा मन्त्री विष्टसहित प्रदेश सभाका नेकपा संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकाल, सांसद कमला विश्वकर्मा, नेकपा रुपन्देहीका सचिव निर्मलकुमार जिसी, नेकपाका नेताहरु खुशीराम चौधरी, नारायण न्यौपाने, मिनप्रसाद पौडेल, कृष्ण घिमिरे, सैनामैना नगरका उपप्रमुख विना राना, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद भण्डारी तथा वडा अध्यक्षहरुलगायतको उपस्थिति थियो । मन्त्रीसहितको टोलीलाई सयौं स्थानीयहरुले स्वागत गरेका थिए । जग्गा अवलोकन पछि मन्त्री विष्टसंग सैनामैनाको सभाहलमा संक्षिप्त साक्षत्कारसमेत भएको थियो ।

प्रकाशित मिति : ७ फाल्गुन २०७५, मंगलवार १८:४२