१४ जेष्ठ २०८३, बिहिबार | Thu May 28 2026

पोखरा विश्वविद्यालयको उपकुलपतिका लागि ३३ जना योग्य (सूचीसहित)

१४ जेठ, काठमाडाैँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पोखरा विश्वविद्यालयको उपकुलपतिका लागि दरखास्त दिने मध्ये ३३ जना योग्य उम्मेदवारको सूची सार्वजनिक गरेको छ । जसमा विजय अर्यालदेखि नवराज धामीसम्म रहनुभएको छ ।

मन्त्रालयले विभिन्न विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी एकीकृत कार्यविधि, २०८३ बमोजिम योग्य रहेकाहरूको सूची सार्वजनिक भएको हो । जसमा पोखरा विश्वविद्यालयका लागि ३३ जनाको दरखास्त स्वीकृत गरिएको छ ।

पोखरासहित लुम्बिनी बाैद्ध विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय तथा राजर्षि जनक विश्वविद्यालयका उपकुलपतिका लागि २१८ जनाले दरखास्त हालेका थिए ।

अब मन्त्रालयले  दरखास्त स्वीकृत भएकाहरूको प्रस्तुतीकरण र अन्तरवार्ता गरेर अर्को छोटो सूची बनाउने छ । त्यसपछि मन्त्रालयले मन्त्रिपरिषद्मा लगेर उपकुलपतिको नियुक्ति गर्नेछ । यससँगै सम्बन्धित विश्वविद्यालयहरूमा उपकुलपति नियुक्ति प्रक्रिया टुंगोमा पुग्नेछ ।

मन्त्रालयले यसपटक उपकुलपति पदका लागि सिफारिस प्रक्रिया एकीकृत ढाँचामा सम्पन्न गरेको जनाएको छ । यसले विश्वविद्यालयहरूमा नेतृत्व चयनलाई पारदर्शी र व्यवस्थित बनाउन सहयोग गर्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : May 28, 2026 at 7:23 am