हिमालयन बैंकको १० प्रतिशत संस्थापक सेयर सर्वसाधारणमा परिणत गरिने
७ जेठ, काठमाडौं। हिमालयन बैंक लिमिटेडले संस्थापक समूहअन्तर्गतको १० प्रतिशत सेयर सर्वसाधारण सेयरमा परिणत गर्ने प्रक्रिया अघि बढाएको छ। चैत १५ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो।
नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशन, २०८२ अन्तर्गत इजाजतपत्र प्राप्त संस्थाका लागि जारी निर्देशनअनुसार संस्थापक समूहको सेयर स्वामित्व न्यूनतम ५१ प्रतिशत कायम रहने गरी बाँकी सेयर सर्वसाधारण समूहमा परिणत गर्न सकिने व्यवस्था रहेको छ। साथै, एक पटकमा अधिकतम १० प्रतिशत बिन्दुसम्म मात्र यस्तो परिवर्तन गर्न सकिने प्रावधान छ।
सोही व्यवस्था अनुसार हिमालयन बैंकले १० प्रतिशत संस्थापक शेयर सर्वसाधारणमा परिणत गर्न लागेको हो। यसका लागि बैंकले संस्थापक समूहका इच्छुक सेयरधनीलाई आवेदन दिन आग्रह गरेको छ। आफ्नो स्वामित्वमा रहेको संस्थापक सेयर सर्वसाधारण सेयरमा परिणत गर्न चाहने सेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवेदन पेश गर्नुपर्नेछ।
बैंकका अनुसार कम्पनीको हकमा सञ्चालक समितिको निर्णयसहित आवेदन दिनुपर्ने व्यवस्था गरिएको छ। यस सम्बन्धी आवेदन तथा आवश्यक स्वःघोषणा फाराम हिमालयन क्यापिटल लिमिटेड तथा हिमालयन बैंकको वेबसाइटबाट डाउनलोड गर्न सकिनेछ।
आवेदन ईमेलमार्फत पठाउन वा काठमाडाैंको कमलादीस्थित आईटी प्लाजा (दोस्रो तल्ला) मा रहेको हिमालयन क्यापिटल लिमिटेडको कार्यालयमा स्वयं उपस्थित भई बुझाउन सकिने बैंकले जनाएको छ।
प्रकाशित मिति : May 21, 2026 at 10:08 am









