हिमालयन बैंक राष्ट्र बैंकको कारवाहीमा
४ जेठ, काठमाडाैं । हिमालयन बैंक लिमिटेडलाई नेपाल राष्ट्र बैंकले कारबाही गरेको छ । राष्ट्र बैंकले जारी गरेको निर्देशन विपरीत काम गरेको भन्दै बैंकलाई कारबाही गरेको हो ।
बैंकको जोखिममा आधारित समष्टिगत स्थलगत निरीक्षणको क्रममा बैंकले सिमित ऋणीहरूलाई निर्धारित प्रिमियमदरमा ब्याक डेटबाट लागू हुने गरी छुट प्रदान गरेको र सो छुट रकम बक्यौता व्याज र साँवा रकम भुक्तानी गर्नमा प्रयोग गरेको, बैंकले तोकिएको समयसीमापश्चात बुझाउनुपर्ने ब्याजको १० प्रतिशत रकम प्राप्त गरी कर्जा पुनरतालिकिकरण/पुनरसंरचना गरेको भन्दै कारबाही गरेको केन्द्रीय बैंकले जनाएकाे छ ।
राष्ट्र बैंकको कारबाहीमा भनिएको छ, ‘हिमालयन बैंक लिमिटेडको जोखिममा आधारित समष्टिगत स्थलगत निरीक्षणको क्रममा बैंकले सीमित ऋणीहरूलाई निर्धारित प्रिमियमदरमा ब्याक डेटबाट लागू हुने गरी छुट प्रदान गरेको र सो छुट रकम बक्यौता व्याज र साँवा रकम भुक्तानी गर्नमा प्रयोग गरेको, बैंकले तोकिएको समयसीमापश्चात बुझाउनुपर्ने ब्याजको १० प्रतिशत रकम प्राप्त गरी कर्जा पुनर्तालिकीकरण/पुनर्संरचना गरेको, पुनर्तालिकीकरण/पुनर्संरचना गरेको कर्जा मध्ये भाखा नाघेको किस्ताको साँवा रकमलाई मात्र पुनर्तालिकीकरण/पुनर्संरचना गरेको कर्जामा वर्गीकरण गरी सो बाहेकको साँवा रकमलाई असल कर्जामा नै वर्गीकरण गरी पर्याप्त कर्जा नोक्सानी व्यवस्था कायम नगरेको, केही कर्जाहरूलाई कर्जाको भाखा नाघेको अवधिको आधारमा वर्गीकरण नगरेको, अस्थायी रूपमा लामो समयसम्म ऋणीहरूको भुक्तानी अवधि बढाइएको, ९० दिनभन्दा बढी बक्यौता रहेका फोर्स लोनलाई खराब कर्जा अन्तर्गत वर्गीकरण नगरेको र यस्तो कर्जामा पर्याप्त कर्जा नोक्सानी व्यवस्था कायम नगरेको पाइएकोले यस बैंकबाट इजाजतपत्रप्राप्त संस्थाहरूलाई जारी एकीकृत निर्देशन २०८१ मा रहेको व्यवस्थाहरू उल्लंघन भएको देखिएकोले नेपाल राष्ट्र बैंक ऐन, २०५८ (दोस्रो संशोधन २०७३ सहित) को दफा १०० को उपदफा २ (क) बमोजिम हिमालयन बैंक लिमिटेडको सञ्चालक समिति र प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराइएको छ ।’
यस्तै, नेपाल राष्ट्र बैंक ऐन, २०५८ (दोस्रो संशोधन २०७३ सहित) को दफा १०० को उपदफा १ (ख) बमोजिम यस बैंकबाट जारी निर्देशनहरुको उल्लंघन गरेबापत हिमालयन बैंक लिमिटेडका सञ्चालक समितिलाई सुधारात्मक कदम चाल्नका लागि कबुलियतनामा समेत गराएको छ ।
प्रकाशित मिति : 18:15









