३ जेष्ठ २०८३, आइतबार | Sun May 17 2026

बीउ बैंकमार्फत रैथाने बाली संरक्षणमा जुट्दै ‘षडानन्द’ नगरपालिका

३ जेठ, भोजपुर । षडानन्द नगरपालिकाले रैथाने बालीको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले बीउ बैंक स्थापना गरी प्रभावकारी अभियान सुरु गरेको छ । परम्परागत रूपमा खेती हुँदै आएका स्थानीय बाली हराउँदै जाने जोखिम बढ्दै गएपछि नगरपालिकाले दीर्घकालीन सोचसहित संरक्षण अभियान अघि बढाएको हो ।

किसानलाई गुणस्तरीय रैथाने बीउ उपलब्ध गराउने, लोपोन्मुख अवस्थामा पुगेका स्थानीय जातका बाली पुनः उत्पादनमा ल्याउने तथा कृषि जैविक विविधता जोगाउने लक्ष्यसहित बीउ बैंक स्थापना गरिएको नगरपालिकाका प्रमुख सुरेन्द्रकुमार उदासले जानकारी दिनुभयो । यस अभियानले स्थानीयस्तरमा रैथाने बालीको संरक्षणमा ठोस योगदान पुग्ने उहाँको भनाइ छ ।

“हामीले स्थानीय रैथाने बालीको संरक्षण र विकासलाई प्राथमिकतामा राखेका छौँ”, प्रमुख उदासले भन्नुभयो, “बीउ बैंकमार्फत बीउ सङ्कलनसँगै किसानलाई वितरण गर्ने कामलाई निरन्तरता दिएका छौँ ।”

बीउ बैंकमार्फत कोदो, फापर, जाँै, चिनो, कागुनो, गहत, भटमास, सिमी, मकैलगायत विभिन्न रैथाने बालीका बीउ सङ्कलन गरी संरक्षण गरिएको कृषि शाखा प्रमुख दिपेन थापाले जानकारी दिनुभयो । उहाँका अनुसार हालसम्म षडानन्द क्षेत्रमा उत्पादन हुने २७ बालीका ११५ जात सङ्कलन गरिएको छ ।

“बीउ बैंकमा स्थानीय रैथाने बालीको व्यवस्थित सङ्कलन गरेका छौँ”, उहाँले भन्नुभयो, “सङ्कलित बीउ किसानलाई ५० प्रतिशत अनुदानमा वितरण गर्दै रैथाने बालीको विस्तारमा टेवा पुर्याइरहेका छौँ ।” बीउ बैंकमार्फत किसानलाई बीउ छनोट, संरक्षण विधि तथा उत्पादन प्रवर्द्धनसम्बन्धी तालिम प्रदान गरिँदै आएको छ । यसले परम्परागत ज्ञान र अभ्यासलाई आधुनिक कृषि प्रविधिसँग जोड्न मद्दत पुगेको छ ।

नगरपालिकाका उपप्रमुख प्रमिला राईले रैथाने बालीको संरक्षण, विकास र प्रवर्द्धन गर्ने उद्देश्यले बीउ बैंक सञ्चालनमा ल्याइएको बताउनुभयो । “स्थानीय बीउको अस्तित्व सङ्कटमा पर्न नदिन यो पहल प्रभावकारी बन्ने विश्वास लिएका छौँ”, उहाँले भन्नुभयो । नगरपालिकाले आगामी दिनमा बीउ बैंकलाई अझ व्यवस्थित र प्रभावकारी बनाउँदै विस्तार गर्ने योजना बनाएको छ । साथै, रैथाने बालीको बजारीकरण, ब्रान्डिङ तथा मूल्य अभिवृद्धिमा जोड दिँदै किसानको आयस्तर वृद्धि गर्ने लक्ष्य राखिएको छ ।

प्रकाशित मिति : 07:18