अर्थ मन्त्रालयको बेरुजु ७०.३६ प्रतिशत, अन्यको कति ?
१ जेठ, काठमाडौं । संघीय मन्त्रालयहरुमध्ये सबैभन्दा बढी बेरुजु खर्च गर्नेमा अर्थमन्त्रालय देखिएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६३औँ वार्षिक प्रतिवेदनमा सरकारका मन्त्रालयहरूमध्ये सबैभन्दा बढी अर्थको ७०.३६ प्रतिशत बेरुजु रहेको देखाएको हो ।
यस मन्त्रालयको बेरुजु ३७ अर्ब ७६ करोड ३१ लाख रहेको छ । जसमा असुल गर्नुपर्ने २० अर्ब ९५ करोड २४ लाख र नियमित गर्नुपर्ने १६ अर्ब ६३ करोड ५० लाख रहेको छ ।
त्यस्तै, सबैभन्दा बढी बेरुजु रहेको मन्त्रालयको दोस्रो नम्बरमा भौतिक तथा पूर्वाधार यातायात मन्त्रालय रहेको छ । यस मन्त्रालयको बेरुजु १३.२८ प्रतिशत रहेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बेरुजु ७ अर्ब १० करोड ३३ लाख रहेको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको बेरुजु २.८६ प्रतिशत रहँदा वन तथा वातावरण मन्त्रालयको २.८७ प्रतिशत र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको २.१८ प्रतिशत बेरुजु रहेको छ । प्रतिवेदन अनुसार सहरी मन्त्रालयको १.५१ प्रतिशत, परराष्ट्र मन्त्रालयको बेरुजु १.३९ प्रतिशत, ऊर्जा मन्त्रालयको १.२२ प्रतिशत र गृह मन्त्रालयको १.०८ बेरुजु रकम देखिएको छ ।

प्रकाशित मिति : 17:48









