१ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026

वैदेशिक रोजगारीका लागि ग्रिस र युएई पठाउने भन्दै २६ लाख ठगी गर्ने दुई जना पक्राउ

१ जेठ, काठमाडौं । वैदेशिक रोजगारका लागि ग्रिस र युएई पठाउने भन्दै रु २६ लाख ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक भुल्लु नगरपालिका–१ का ५२ वर्षीय मधुसुदन पराजुली तथा पर्वत कुश्मा नगरपालिका–२ का ३२ वर्षीय प्रकाश बाँस्तोला रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “पक्राउ परेकामध्ये मधुसुदन पराजुलीले ग्रिस पठाउने भन्दै रु २३ लाख तथा प्रकाश बाँस्तोलाले युएई पठाउने भन्दै रु तीन लाख रकम लिई विदेश नपठाई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीका आधारमा पक्राउ गरिएको हो ।”

निजहरू दुवै जनलाई उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि आज वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रवक्ता कार्कीले बताउनुभयो ।

पछिल्लो समय वैदेशिक रोजगारका नाममा ठगीका घटना बढ्दै गएको भन्दै प्रहरीले सर्वसाधारणलाई सचेत रहन आग्रह गर्दै आकर्षक तलब र छिटो विदेश पठाइदिने प्रलोभनमा नपरी आधिकारिक प्रक्रियामार्फत मात्रै वैदेशिक रोजगारमा जान सुझाव दिएको छ । साथै कुनै व्यक्ति वा संस्थाबाट ठगी भएको आशङ्का लागेमा तत्काल प्रहरी वा सम्बन्धित निकायमा उजुरी दिनसमेत आग्रह गरिएको छ ।

प्रकाशित मिति : 11:35