२७ बैशाख २०८३, आइतबार | Sun May 10 2026

नेपाल बैंकले ल्यायो ‘घडेरी कर्जा’ योजना, २० वर्षसम्म भुक्तानी गर्न मिल्ने

२७ वैशाख, काठमाडौं । नेपाल बैंकले ‘घडेरी कर्जा’ योजना सार्वजनिक गरेको छ । जग्गा खरिद गरी आफ्नै घर बनाउने सपना देख्ने ग्राहकहरूलाई लक्षित गर्दै बैंकले यो विशेष कर्जा सुविधा ल्याएको हो ।

‘हामी तपाईंको सपनालाई वास्तविकतामा परिणत गर्छौं’ भन्ने मूल नाराका साथ सुरु गरिएको यस योजना अन्तर्गत ग्राहकले अब सहज रूपमा जग्गा खरिदका लागि ऋण प्राप्त गर्न सक्नेछन् ।

बैंकका अनुसार यस कर्जा योजनामा ग्राहकले लिएको कर्जा अधिकतम २० वर्षभित्र भुक्तानी गर्न सक्ने सुविधा दिइएको छ । जसले गर्दा मासिक किस्ताको भार कम भई मध्यमवर्गीय परिवारलाई जग्गा जोड्न सहज हुने देखिन्छ ।

यसका साथै, बैंकले अत्यन्तै सरल र झन्झटमुक्त प्रक्रियाबाट सुलभ ब्याजदरमा यो कर्जा प्रवाह गर्ने प्रतिबद्धता जनाएको छ । नेपाल बैंकले आफ्ना ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै यो सेवा देशभर रहेका आफ्ना सम्पूर्ण शाखाहरूबाट उपलब्ध गराउने बताएको छ ।

जग्गा खरिद गर्न चाहने जोकोहीले पनि आफूलाई पायक पर्ने नेपाल बैंकको शाखामा गएर यस सम्बन्धी थप जानकारी लिन र आवेदन दिन सक्ने बैंकले जनाएको छ ।

प्रकाशित मिति : 14:35