२२ बैशाख २०८३, मंगलबार | Tue May 5 2026

आर्मेनिया युरोपतर्फ नजिकिँदै, रुससँग दूरी बढ्दै

२२ वैशाख, आर्मेनिया । दक्षिण काकेशस क्षेत्रको रणनीतिक रूपमा महत्त्वपूर्ण राष्ट्र आर्मेनियाले आफ्नो विदेश नीतिमा ऐतिहासिक मोड लिँदै युरोपेली सङ्घ (इयु) सँग सम्बन्ध गहिरो बनाइरहेको छ । यही सन्दर्भमा आर्मेनियाले मङ्गलबार इयुसँग पहिलो द्विपक्षीय शिखर सम्मेलन आयोजना गर्दै लामो समयदेखिको सहयोगी रुसबाट दूरी बढाउने स्पष्ट सङ्केत दिएको छ ।

राजधानी येरेवानमा सम्पन्न उक्त शिखर सम्मेलन युरोपेली राजनीतिक समुदायको आठौँ भेला पछि युरोपका दर्जनौँ नेताहरूलाई एउटै मञ्चमा ल्याउँदै सम्पन्न भएको हो । सोमबार भएको छलफलमा युरोपेली सुरक्षा अवस्था र इरानमा अमेरिका–इजरायल युद्धसम्बन्धी विषयमा पनि चर्चा भएको थियो ।

यी घटनाक्रमहरूले आर्मेनियाले पश्चिमतर्फ उन्मुख हुने आफ्नो रणनीति तीव्र बनाएको देखाउँछन् । सन् २०२३ मा अजरबैजानले काराबाख क्षेत्र पुनः नियन्त्रणमा लिएपछि दशकौँ पुरानो पृथकतावादी शासन अन्त्य गर्दै आर्मेनिया र रुसबीचको सम्बन्ध चिसिएको थियो ।

आर्मेनियाली पक्षले अजरबैजानको आक्रमण रोक्न नसकेको भन्दै त्यहाँ तैनाथ रुसी शान्ति सैनिकहरूको आलोचना गरेको थियो । तर युक्रेन युद्धमा व्यस्त रहेको मस्कोले हस्तक्षेप गर्ने जनादेश नभएको दाबी गर्दै आरोप अस्वीकार गरेको थियो । येरेवानस्थित क्षेत्रीय अध्ययन केन्द्रका निर्देशक रिचार्ड गिरागोसियनले उक्त युद्धलाई ‘रुस अविश्वसनीय साझेदार भएको स्पष्ट प्रमाण’ भन्दै टिप्पणी गर्नुभयो ।

त्यसयता प्रधानमन्त्री निकोल पाशिन्यानको नेतृत्वमा आर्मेनियाले पश्चिमसँग सम्बन्ध विस्तारलाई प्राथमिकता दिएको छ, जसलाई इयुले स्वागत गरेको छ । युरोपेली परिषद्का अध्यक्ष एन्टोनियो कोस्टाले पाशिन्यानलाई युरोप नजिक ल्याउने साहसी राजनीतिक निर्णयका लागि धन्यवाद दिनुभएको छ । उहाँले आर्मेनियाली लोकतन्त्र सुदृढीकरण र बाह्य हस्तक्षेप तथा गलत सूचनाविरुद्धको प्रयास महत्त्वपूर्ण रहेको बताउनुभयो ।

त्यसैगरी युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डर लेयनले आर्मेनियाले दक्षिण काकेशस र मध्य एसियाबीचको सम्पर्क सञ्जालमा महत्त्वपूर्ण भूमिका खेल्न सक्ने उल्लेख गर्नुभयो ।

आर्मेनियाले सन् २०२३ मा अन्तर्राष्ट्रिय फौजदारी अदालतमा सदस्यता लिएको थियो, जसलाई मस्कोले ‘प्रतिकूल कदम’ भनेको थियो । उक्त अदालतले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध युक्रेनबाट बालबालिका अपहरणको आरोपमा पक्राउ पुर्जी जारी गरेको छ ।

त्यसपछि सन् २०२४ मा आर्मेनियाले मस्को नेतृत्वको सामूहिक सुरक्षा सन्धि सङ्गठनमा आफ्नो सहभागिता रोकेको थियो । अर्को वर्ष, आर्मेनियाली संसद्ले इयुमा सदस्यता लिने औपचारिक इच्छा व्यक्त गर्ने कानून पारित गरेको थियो ।

विश्लेषक गिरागोसियनका अनुसार रुसले छोडेको प्रभाव क्षेत्र अहिले इयुले भर्दै गएको छ । यसमा संयुक्त राज्य अमेरिकाको तुलनामा युरोपेली सहभागिता बढी व्यावहारिक देखिन्छ । उहाँका अनुसार यो प्रक्रिया दीर्घकालीन रूपमा कम तनावपूर्ण हुन सक्छ ।

तर आर्मेनिया अझै पनि रुस नेतृत्वको युरेशियन आर्थिक सङ्घको सदस्य छ, जसले वस्तु, पूँजी र श्रमको स्वतन्त्र आवागमन सुनिश्चित गर्छ । यस सङ्गठनमा बेलारुस, काजाकिस्तान र किर्गिस्तान पनि सहभागी छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले हालैको भेटमा आर्मेनिया एकैसाथ इयु र उक्त आर्थिक सङ्घमा रहन नसक्ने चेतावनी दिनुभएको थियो । प्रधानमन्त्री पाशिन्यानले असङ्गतता स्वीकार गर्दै हाललाई दुवै दिशामा सन्तुलन कायम राख्ने नीति अपनाइने बताउनुभएको थियो ।

गिरागोसियनले मङ्गलबारको शिखर सम्मेलनलाई नयाँ सदस्यता भन्दा पनि पहिले नै रहेको सम्बन्धलाई थप गहिरो बनाउने प्रयासका रूपमा व्याख्या गर्नुभयो । उहाँका अनुसार यसले रुसलाई स्पष्ट राजनीतिक सन्देश दिएको छ ।

शिखर सम्मेलन अजरबैजानसँग बढ्दो तनावबीच भएको हो । अजरबैजानले युरोपेली संसद्को प्रस्तावप्रति आपत्ति जनाउँदै इयुका प्रतिनिधिलाई बोलाएको थियो । त्यसपछि अजरबैजानी सांसदहरूले युरोपेली संसद्सँगको सहकार्य निलम्बन गर्ने निर्णय गरेका छन् ।

अजरबैजानका राष्ट्रपति इल्हाम अलियेभले युरोपेली संस्थाहरूलाई दोहोरो मापदण्ड अपनाएको आरोप लगाउनुभयो । शिखर सम्मेलन स्थल बाहिर पनि प्रदर्शन भएको थियो, जहाँ प्रदर्शनकारीहरूले अजरबैजानमा रहेका आर्मेनियाली बन्दीहरूको फोटो प्रदर्शन गरेका थिए ।

आन्तरिक राजनीतिमा पनि यस घटनाले प्रभाव पारेको छ । आगामी निर्वाचनको तयारीमा रहेका प्रधानमन्त्री पाशिन्यानलाई अन्तर्राष्ट्रिय मञ्चमा देखिएको सक्रियताले राजनीतिक लाभ पुग्न सक्ने अनुमान गरिएको छ । तर विपक्षी नेता अराम सार्गस्यानले युरोपेली समर्थनलाई चुनावकेन्द्रित भन्दै आलोचना गर्नुभएको छ र अजरबैजानमा रहेका आर्मेनियाली बन्दीहरूको मुद्दा बेवास्ता गरिएको आरोप लगाउनुभएको छ ।

प्रकाशित मिति : 13:54