व्यवसायी शेखर गोल्छामाथि अनुसन्धानका लागि ३ दिन म्याद थप
१७ वैशाख, काठमाडौं । काठमाडौं जिल्ला अदालतले व्यवसायी शेखर गोल्छाविरूद्ध अनुसन्धान गर्न थप ३ दिनको म्याद दिएको छ । अदालतले बिहीबार गोल्छालाई थप ३ दिन थुनामा राख्न अनुमति दिएको हो।
व्यवसायी गोल्छा वैशाख १० गते पक्राउ पर्नुभएकाे थियाे । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गोल्छालाई नक्सालबाट पक्राउ गरेको थियो । नेपाल धितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवदेनको आधारमा सीआईबीले गोल्छालाई पक्राउ गरेसँगै अदालतबाट पहिलो पटक ४ दिनका लागि म्याद पाएको थियो । त्यसपछि गत सोमबारलाई पुन: गोल्छामाथि अनुसन्धानका लागि थप ३ दिनको अनुमति अदालतले दिएको थियो ।
गोल्छाको रिहाइको माग गर्दै उहाँकी पत्नी सीमा गोल्छाले सोमबार सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गर्नुभएकाे थियाे । मंगलबारको इजलासले रिहाको आदेश किन जारी हुनु नपर्ने हो ? आदेश जारी हुनु नपर्ने भए सो को आधार र कारणसहित बाटोको म्याद बाहेक सूचना पाएको मितिले २४ घण्टाभित्र बन्दीसहित लिखित जवाफ पेस गर्न आदेश दिएको थियो । तर, बुधबार न्यायाधीशद्वय सुनिल कुमार पोखरेल र नित्यानन्द पाण्डेयको इजलासमा परेको रिट हेर्न नभ्याइनेमा परेको थियो । बिहीबार कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश मनोजकुमार शर्माको इजलासमा पेसी तोकिए पनि उक्त मुद्दा हेर्न नमिल्नेमा परेको छ ।
प्रकाशित मिति : 15:08









