१५ बैशाख २०८३, मंगलबार | Tue Apr 28 2026

एनएमबी बैंकको नाफा २ अर्ब ६८ करोड

१५ वैशाख, काठमाडौं । एनएमबी बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म २ अर्ब ६८ करोड ७८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा १३.२५ प्रतिशतले बढी हाे । गत आवको सोही अवधिमा बैंकको नाफा २ अर्ब ३७ करोड ३३ लाख रुपैयाँ रहेकाे थियाे ।

बैंकको खुद ब्याज आम्दानी १३.६७ प्रतिशतले बढेर ७ अर्ब ३७ करोड ८० लाख रुपैयाँ पुगेको छ । गत आबको तेस्रो त्रैमासमा बैंकको खुद ब्याज आम्दानी ६ अर्ब ४९ करोड २ लाख रुपैयाँ थियो । बैंकको खुद फि तथा कमिसन आम्दानी पनि १ अर्ब ६४ करोड ९५ लाख रुपैयाँबाट बढेर १ अर्ब ९६ करोड ८५ लाख रुपैयाँ पुगेको छ ।

 बैंकको सञ्चालन खर्चतर्फ कर्मचारी खर्च २ अर्ब ६० करोड ४१ लाख रुपैयाँबाट घटेर २ अर्ब २८ करोड ७८ लाख रुपैयाँमा झरेको छ । तर, अन्य सञ्चालन खर्च भने १ अर्ब २ करोडबाट बढेर १ अर्ब १४ करोड ५३ लाख रुपैयाँ पुगेको छ ।

बैंकको निष्क्रिय कर्जा ४.४७ प्रतिशतबाट ४.९५ प्रतिशत पुगेको छ । बैंकले चैत मसान्तसम्म कुल २ खर्ब ९७ अर्ब ८३ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ४३ अर्ब ८३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत आर्थिक वर्षको असार मसान्तको तुलनामा निक्षेप ६.०१ प्रतिशत र कर्जा ६.७३ प्रतिशतले वृद्धि भएको छ । गत असार मसान्तमा बैंकको निक्षेप २ खर्ब ८० अर्ब ९२ करोड र कर्जा २ खर्ब २८ अर्ब ४५ करोड रुपैयाँ रहेको थियो ।

तेस्रो त्रैमाससम्म बैंकको सञ्चित नाफा ९२ करोड ८९ लाख रुपैयाँ रहेको छ । यस आधारमा लाभांश क्षमता ५.३४ प्रतिशत छ । बैंकको प्रतिसेयर आम्दानी १७ रुपैयाँ ९५ पैसा पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १७५ रुपैयाँ १८ पैसा, मूल्य–आम्दानी अनुपात १३.८४ गुणा रहेकाे छ ।

प्रकाशित मिति : 10:47