१ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026

पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ

११ वैशाख, काठमाडौँ । पूर्वमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता विक्रम पाण्डे पक्राउ परेका छन्। उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले शुक्रबार नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार पाण्डेमाथि आफू अनुकूल ठेक्का मिलाउन ई–बिडिङ प्रणालीको वेबसाइट ह्याक गर्ने प्रयास गरेको आरोप लागेको छ। सोही आरोपका आधारमा उनलाई अनुसन्धानका लागि पक्राउ गरिएको जनाइएको छ।

पाण्डे राप्रपाका उपाध्यक्षसमेत हुन्। उनी २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका थिए।

यसअघि पनि पाण्डे विवादमा तानिएका थिए। २०७५ सालमा सिक्टा सिंचाइ आयोजनामा गुणस्तरहीन निर्माण कार्य भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध मुद्दा दायर गरेको थियो। उक्त मुद्दामा उनी ४ करोड रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए।

प्रकाशित मिति : 19:33