२१ जेष्ठ २०८३, बिहिबार | Thu Jun 4 2026

भ्रामक प्रचारप्रति नबिल बैंकको आपत्ति, दुष्प्रचारप्रति कानुनी कारबाहीको चेतावनी

११ वैशाख, काठमाडौं । नबिल बैंक लिमिटेडले आफ्ना ग्राहकहरूको गोपनीयता भंग गरेको भन्ने आरोपलाई पूर्ण रूपमा अस्वीकार गरेको छ। बैंकले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जाल तथा केही सञ्चार माध्यममा फैलाइएको सूचना भ्रामक, आधारहीन र प्रमाणविहीन भएको जनाएकाे छ ।

बैंकका अनुसार पछिल्लो समय विभिन्न माध्यममा ग्राहकको बैंकिङ कारोबारसम्बन्धी विवरण चुहावट भएको भन्ने दाबीहरू नियोजित रूपमा फैलाइएको छ, जसले बैंकिङ प्रणालीप्रतिको जनविश्वासमा असर पार्ने उद्देश्य राखेको देखिन्छ।

२०८३ वैशाख ९ गते कान्तिपुर दैनिक मा प्रकाशित समाचारमा “अनुसन्धानरत निकायबाट प्राप्त विवरण” भनी स्पष्ट उल्लेख गरिएको भए पनि त्यसलाई तोडमोड गरी बैंकमाथि आरोप लगाइएको बैंकले जारी गरेकाे विज्ञप्तिमा उल्लेख छ ।

बैंकले कुनै पनि ग्राहकको व्यक्तिगत वा कारोबारसम्बन्धी जानकारी ग्राहक स्वयं, आधिकारिक प्रतिनिधि वा कानूनी प्रक्रिया पूरा गरेका नियामक तथा अनुसन्धान निकाय बाहेक अन्य कसैलाई नदिने स्पष्ट पारेको छ। साथै, यदि कसैले कुनै विवरण निकालेको भए त्यसको सम्पूर्ण अभिलेख कोर बैंकिङ प्रणालीमा सुरक्षित रूपमा रहने जानकारी पनि दिएको छ।

चार दशकभन्दा बढी समयदेखि सेवा दिँदै आएको नबिल बैंकले प्रचलित कानून, नियमन तथा आन्तरिक नीतिहरूको पूर्ण पालना गर्दै ग्राहक गोपनीयता कायम राख्न कटिबद्ध रहेको जनाएको छ। बैंकले यस्ता दुष्प्रचारमा संलग्न व्यक्ति वा निकायविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ अनुसार कानूनी कारबाही गर्ने चेतावनीसमेत दिएको छ।

बैंकले आफ्ना ग्राहक तथा सरोकारवालालाई यस्ता भ्रमपूर्ण सूचनामा विश्वास नगर्न अनुरोध गर्दै सुरक्षित बैंकिङ सेवा प्रदान गर्न आधुनिक प्रविधिको प्रयोग निरन्तर जारी राख्ने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रकाशित मिति : April 24, 2026 at 3:01 pm