एनआईसी एशिया बैंकका ग्राहकलाई एभरेष्ट हस्पिटलमा उपचार गर्दा १५ प्रतिशतसम्म छुट
९ वैशाख, काठमाडाैं । एनआईसी एशिया बैंक लिमिटेड र एभरेष्ट हस्पिटल प्रा. लि. बीच बैंकका ग्राहकलाई विभिन्न सेवाहरूमा विशेष छुट प्रदान गर्ने सम्बन्धमा समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
उक्त समझदारी पत्रमा बैंकको तर्फबाट चिफ ट्रान्जेक्सन बैंकिङ्ग नरेन्द्र मैनाली र एभरेष्ट हस्पिटलका तर्फबाट प्रशासन प्रमुख दिपक चन्द्र बरालले हस्ताक्षर गर्नुभयो ।

यस समझदारी पश्चात बैंकका ग्राहकले नयाँ बानेश्वर, काठमाडौंमा रहेको एभरेष्ट हस्पिटलमा उपलब्ध विभिन्न सेवाहरु (आउटसोर्स सेवाहरु, डाक्टर परामर्श र एम्बुलेन्स शुल्क बाहेक) उपयोग गरी डिजिटल भुक्तानी गर्दा १५ प्रतिशत छुट सुविधा प्राप्त गर्न सक्ने बैंकले जनाएकाे छ ।
साथै, ग्राहकले अपरेसनमा ५ प्रतिशत र हस्पिटलको फार्मेसीबाट औषधि खरिद गर्दा १० प्रतिशत छुट सहुलियत प्राप्त गर्न सकिने बैंकले जनाएकाे छ । यस सुविधाको उपयोग गर्न ग्राहकले यस बैंकको डेबिट कार्ड वा क्रेडिट कार्ड वा मोबाइल बैंकिङ्ग एप प्रयोग गरी भुक्तानी गर्नुपर्ने छ । उक्त हस्पिटलसँगको सहकार्यले ग्राहकलाई स्वास्थ्य उपचारमा विशेष सहुलियत हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।
प्रकाशित मिति : 17:12









