२३ चैत्र २०८२, सोमबार | Mon Apr 6 2026

सेयर बजार सुधारका लागि स्टक ब्रोकर एसोसिएसनले बुझायो अर्थमन्त्रीलाई ६ बुँदे सुझाव

२३ चैत, काठमाडाैं । स्टक ब्रोकर एसोसिएसन अफ नेपालले सेयर बजारमा देखिएका विद्यमान समस्या समाधानका लागि अर्थमन्त्री स्वर्णिम वाग्लेलाई ६ बुँदे सुझाव पत्र बुझाएको छ।

सोमबार एसोसिएसनका प्रतिनिधिहरूले अर्थ मन्त्रालय पुगेर पूँजीबजारको विकास र विस्तारका लागि तत्काल चाल्नुपर्ने कदमहरूका बारेमा जानकारी गराएका हुन्। एशोसिएसनको तर्फबाट पुँजीबजार सुधार कार्यदलले दिएका कार्यन्वयन हुन बाँकी सुझावहरु अविलम्ब कार्यन्वयन गर्न, बैंक तथा वित्तीय संस्थाहरुलाई सहज रुपमा पुँजीबजार प्रवेश र बाहिरिन सक्ने व्यवस्था अविलम्ब लागू गर्न माग गरेका छन् ।

एसोसिएसनले अघि सारेका मुख्य ६ बुँदे मागहरू:

१. सुधार कार्यदलको सुझाव कार्यान्वयन

पूँजीबजार सुधारका लागि विभिन्न समयमा गठित कार्यदलले दिएका तर कार्यान्वयन हुन बाँकी रहेका सुझावहरू तत्काल लागू गरिनुपर्ने ।

२. बैंक तथा वित्तीय संस्थालाई सहज प्रवेश

बैंक तथा वित्तीय संस्थाहरूलाई पूँजीबजारमा सहज रूपमा प्रवेश र बाहिरिन सक्ने व्यवस्था गर्नुपर्ने। साथै, हाल रहेको शेयर खरिद गरेपछि ६ महिनासम्म बिक्री गर्न नपाइने व्यवस्था हटाउनुपर्ने।

३. गैर आवासीय नेपाली (NRN) लाई प्रवेश

गैर आवासीय नेपालीहरूलाई दोस्रो बजारमा सहज रूपमा शेयर कारोबार गर्न पाउने व्यवस्था तत्काल मिलाउनुपर्ने।

४. पूँजीगत लाभकर र संस्थागत लगानी 

बजेटमार्फत पूँजीगत लाभकरलाई नै अन्तिम कर (Final Tax) हुने गरी स्पष्ट पार्नुपर्ने। साथै, सरकारी संस्थान र विभिन्न कोषहरूको रकमलाई दोस्रो बजारमा लगानी गर्ने वातावरण बनाई लगानीकर्ताको मनोबल बढाउनुपर्ने।

५. अक्सन मार्केटको सुरुवात 

हाल सेयर हस्तान्तरण हुन नसक्दा सिधै ‘क्लोज आउट’मा गएर लगानीकर्ताले जरिवाना तिर्नुपर्ने अवस्था छ। यसलाई अन्त्य गर्न र बजारलाई थप सुरक्षित बनाउन ‘अक्सन मार्केट’ यथाशीघ्र सञ्चालनमा ल्याउनुपर्ने।

६. सेटलमेन्ट ग्यारेन्टी फण्ड 

वि.सं. २०७५ मा नियमावली र २०७९ मा कार्यविधि बने पनि हालसम्म कार्यान्वयनमा नआएको ‘सेटलमेन्ट ग्यारेन्टी फण्ड’ (राफसाफ सुनिश्चितता कोष) लाई नियामक निकायमार्फत निर्देशन दिएर तत्काल कार्यान्वयनमा ल्याउनुपर्ने ।

प्रकाशित मिति : २३ चैत्र २०८२, सोमबार १२:०९