२२ चैत्र २०८२, आईतवार | Sun Apr 5 2026

धौलागिरी लघुवित्तले बोलायो साधारण सभा, यी प्रस्ताव पारित गरिने

२२ चैत, काठमाडौं। धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सभा बोलाएको छ । संस्थाको चैत २१ गते बसेको सञ्चालक समितिको बैठकले आगामी वैशाख २२ गते बाग्लुङ नगरपालिकामा रहेको धौलागिरी सामुदायिक स्रोत विकास केन्द्रमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको छ । सभामा संस्थाको पूँजी वृद्धिको योजनाबारे छलफल गरी पारित गरिनेछ ।

 यस्तै, सभामा अन्य लघुवित्तसँग गाभ्ने/गाभिने तथा प्राप्ति प्रयोजनका लागि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने र यसका लागि नियमनकारी निकायबाट कुनै संशोधन गर्न निर्देशन प्राप्त भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने विशेष प्रस्ताव पारित गरिनेछ ।

यस्तै सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरिने आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित  गर्ने,  लेखापरीक्षकको प्रतिवेदनसहितको २०८२ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विववरणहरुमाथि छलफल र चालु आर्थिक वर्षको लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनुका साथै सञ्चालकहरुको मनोनयन/नियुक्तिलाई अनुमोदन गरिनेछ ।

 साधारण सभा प्रयोजनका लागि कम्पनीले वैशाख १० गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसकाे अर्थ वैशाख ९ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरुले मात्रै सभामा सहभागी हुन सक्नेछन् ।

प्रकाशित मिति : २२ चैत्र २०८२, आईतवार १०:५०