२२ चैत्र २०८२, आईतवार | Sun Apr 5 2026

विजय लघुवित्तले सेयर संरचना परिवर्तन गर्ने

२२ चैत, काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो सेयर स्वामित्व संरचनामा परिवर्तन गर्ने प्रक्रिया अघि बढाएको छ। संस्थाले हाल कायम रहेको संस्थापक समूहको ७० प्रतिशत र सर्वसाधारण समूहको ३० प्रतिशत सेयर संरचनालाई संस्थापक सेयरधनी समूहको ६०.७८ र सर्वसाधारण सेयरधनी समूहको ३९.२२ प्रतिशत सेयर स्वामित्व हुने गरी सेयरधनीहरुको पुँजीको संरचनालाई परिवर्तन गर्न लागेको हो ।

संस्थाको सञ्चालक समितिको गत माघ २३ गते बसेको बैठकले साविक विजय लघुवित्त वित्तीय संस्था लिमिटेड र नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेड एकआपसमा गाभिएपछि बनेको विजय लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयर संरचना परिवर्तन गर्न लागेको हो। संस्थाको कुल चुक्ता पुँजीको ९.२२ प्रतिशत बराबरको ७ लाख २९ हजार ६०० कित्ता सेयर सर्वसाधारण समूहमा परिवर्तन गरिने भएको छ।

संस्थापक सेयर सर्वसाधारण समूहमा परिवर्तन गर्न नचाहने संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र धुलिखेलमा रहेको संस्थाको प्रधान कार्यालयमा सम्पर्क राखि लिखित रुपमा निवेदन दिन वा वित्तीय संस्थाको ईमेलमा निवेदन पठाउन संस्थाले आग्रह गरेको छ ।

 तोकिएको समयभित्र सर्वसाधारण समूहको सेयरमा परिवर्तन नगर्ने भनी निवदेन नदिए संस्थापक सेयरधनीहरुको परिवर्तन गर्न मञ्जुर रहेको ठानी सोही बमोजिम सर्वसाधारण समूहमा परिवर्तन गर्ने तर्फ प्रक्रिया अगाडी बढाईने समेत संस्थाले स्पष्ट पारेको छ ।

प्रकाशित मिति : २२ चैत्र २०८२, आईतवार १०:०५