अष्ट्रेलियाको स्थानिय उप निर्वाचनमा देव गुरुङको उम्मेदवारी
सिड्नी। अष्ट्रेलियाको एनएसडब्लु राज्यको सिड्नीको लिभरपुल सिटी काउन्सिल अन्तर्गत पर्ने साउथ वार्डमा रिक्त पदका लागि आगामी १८ अप्रिल २०२६ मा हुने उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङले कम्युनिटी भ्वाईस अफ अष्ट्रेलिया पार्टीबाट बाट उम्मेदवारी दिनु भएको छ । उपप्रमुख बेट्टी ग्रिनले स्वास्थ्य कारण देखाउँदै कार्यकालको बीचमै राजीनामा दिएपछि रिक्त उक्त पदमा चुनाव हुन लागेको हो । यस उपनिर्वाचनमा लेबर, लिबरल लगायत स्वतन्त्र गरी ११ जना उम्मेदवारहरूले उम्मेदवारी परेको छ ।
गुरुङ लामो समयदेखि अष्ट्रेलियामा नेपाली समुदायसँग आबद्ध भई स्वयंसेवकका रूपमा सक्रिय रहँदै आउनु भएको छ । ब्रिटिश आर्मी तथा अष्ट्रेलियन डिफेन्स फोर्समा ३० वर्षभन्दा बढी सेवा गरेको अनुभवी गुरुङ लामो समयदेखि लिभरपुल क्षेत्रमै बसोबास गर्दै स्थानीय समुदाय, परिवार, व्यवसाय तथा भावी पुस्ताका आवश्यकताबारे जानकार व्यक्तिका रूपमा चिनिनु हुन्छ ।
निर्वाचित भएमा गुरुङले काउन्सिल दरलाई न्यायोचित र जिम्मेवार बनाउने, फोहोर तथा फोहोर व्यवस्थापन जस्ता आधारभूत सेवामा सुधार गर्ने, सडक, फुटपाथ, पार्क तथा खेलकुद पूर्वाधार सुदृढ गर्ने, सामुदायिक सम्पत्तिलाई अनावश्यक निजीकरणबाट जोगाउने, समुदाय तथा खेलकुद स्थल सुलभ बनाउने, नयाँ पूर्वाधार विकासमा जोड दिने, स्थानीय रोजगारी सिर्जना गर्ने र लिभरपुललाई सुरक्षित, सशक्त तथा बस्नयोग्य बनाउने प्राथमिकता राख्नु भएको छ ।
पारदर्शिता, जवाफदेहिता र जनमुखी नेतृत्वलाई आफ्नो अभियानको मुख्य आधार बनाएका गुरुङले साउथ वार्डका मतदातालाई १८ अप्रिल २०२६ मा मतदान गरी आफूलाई विजयी बनाउन आह्वान गर्नु भएको छ । यस क्षेत्रमा नेपालीहरूको पनि बाक्लो बसोबास रहेको छ।
यसअघि अष्ट्रेलियामै नेपाली मूलका भद्रा वाइवा, रेनुका लामा र शुक्रिती भट्टले काउन्सिल निर्वाचन जितेर प्रतिनिधित्व गर्दै नेपाली समुदायका लागि प्रेरणादायी उदाहरण प्रस्तुत गरिसक्नु भएको छ ।
प्रकाशित मिति : २२ चैत्र २०८२, आईतवार ०४:०८













