२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

ग्राहकको खाताबाट १ करोड ६५ लाख आफ्नो खातामा पठाउने बैंकका कर्मचारी पक्राउ

१७ चैत, काठमाडौं। ग्राहकको खाताबाट ठूलो रकम हिनामिना गरेको आरोपमा एक बैंक कर्मचारी पक्राउ परेका छन् । कपिलवस्तुको तौलिहवास्थित नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको एक शाखाका कर्मचारी ग्राहकको खाताबाट आफ्नै खातामा रकम ट्रान्सफर गरी हिनामिना गरेको आरोपमा  पकाउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले बैंकिङ प्रणालीको दुरुपयोग गरी ग्राहकको करोडौँ रकम हिनामिना गरेको आरोपमा कपिलवस्तुको मायादेवी गाउँपालिका वडा नम्बर १, पकडी बस्ने २८ वर्षीय रिषभ कार्कीलाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार पक्राउ परेका कार्कीले विभिन्न मिति र समयमा बैंकको आन्तरिक प्रणालीभित्र प्रवेश गरेर केही ग्राहकको खातासँग जोडिएको मोबाइल नम्बर परिवर्तन गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। त्यसपछि आफ्नै प्रयोगमा रहेको मोबाइल नम्बर ती खातामा जोडेर मोबाइल बैंकिङ तथा कनेक्ट आइपिएसमार्फत कुल १ करोड ६५ लाख रुपैयाँ अनधिकृत रूपमा ट्रान्सफर गरी रकम हिनामिना गरेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय पकडीबाट खटिएको प्रहरी टोलीले कार्कीलाई चैत ११ गते पकडी क्षेत्रबाटै नियन्त्रणमा लिएको हो । उनीमाथि बैंकिङ कसुर सम्बन्धी मुद्दामा थप अनुसन्धान गर्न उच्च अदालत तुलसीपुर, बुटवल इजलासबाट ७ दिनको म्याद थप गरी हिरासतमा राखिएको छ ।

प्रकाशित मिति : March 31, 2026 at 1:38 pm