८ चैत्र २०८२, आईतवार | Mon Mar 23 2026

अतीतका गीत लिएर दुर्गा खरेल पलेँटीमा

७ चैत, काठमाडौँ । हरेक अंग्रेजी महीनाको अन्तिम शुक्रवार नेपालयको ‘आर’सालामा आयोजना हुँदै आएको साङ्गीतिक कार्यक्रम पलेंटीमा यसपटक दार्जिलिङ्का प्रसिद्ध गायक तथा सङ्गीतकार दुर्गा खरेल प्रस्तुत हुने भएका छन् । पलेँटी कार्यक्रम आजभन्दा २१ वर्ष पहिलेदेखि सञ्चालन हुँदै आएको लघु साङ्गीतिक कार्यक्रम हो ।
दुर्गा नेपाली साङ्गीतिक जगतका सम्पूर्ण नेपालीभाषी श्रोता बीच स्थापित नाम हो । खासगरी- ‘बोलाउँ भने तिमीलाई बात लाग्ने डर’ दुर्गाको स्वरमा लोकप्रिय बनेको गीत हो । दाजु बद्री खरेल र दुर्गा खरेलको साङ्गीतिक जोडी बद्री-दुर्गाको नामले चिनिँदै आएको छ । यसपल्ट भने दुर्गाले बाल्यकालदेखि आफूले सुनेका र मनमा गढेर रहेका मेलोडी लिएर आएका छन् । कार्यक्रममा दुर्गाका साथै पलेँटीकी कण्ठ-शिल्पी अभिज्ञा घिमिरेको स्वरमा अतीतका धुनहरू गुञ्जने छन् ।
सङ्गीतकार गोपाल योञ्जनको सामिप्यमा हुर्किएका दुर्गाले सानोछँदा अम्बर गुरुङ, जितेन्द्र बर्देवा, शान्ति ठटाल, कर्म योञ्जन लगायतका अनेकौं स्वनामधन्य सर्जकका सृजनाको रसास्वादन गर्न पाए । गीतकार नरदेन रुम्बासँग त सहकार्य नै गर्ने अवसरसमेत जुर्‍यो। उनले विगतको त्यही परिवेशलाई पलेँटीमा झल्काउने जानकारी गराए । जसमा गीत सङ्गीतका सर्जकहरू अम्बर गुरुङ, गोपाल योञ्जन, बलु बराइली, एम.बी. सुन्दास, नरदेन रुम्बा, फटिकधर ब्राम्हण आदिका रचनाहरू समेटिएका छन् ।
यसपालीको पलेँटी बारे कार्यक्रम संयोजक आभास भन्छन्- ‘स्वरांकित हुन नपाएका पुराना साङ्गीतिक रचनाहरूलाई सम्बर्धन गर्नु पनि पलेँटीको उद्देश्य हो । त्यही भएर यसपालीको पलेँटीमा दुर्गा खरेलको स्मृतिमार्फत् दार्जिलिङका पुराना सृजनालाई समेट्ने प्रयास गरेका छौँ ।’
पहिलो पल्ट सन् २००८ मा पलेँटी कसेको सम्झना गर्दै दुर्गा खरेल भन्छन्- ‘यसभन्दा पहिले दुईचोटि हामी आफ्नो सङ्गीतमा विभिन्न गीतकारका गीतहरू लिएर उपस्थित भएका थियौँ । यसपल्ट भने मेरो वैयक्तिक सम्झनामा रहेका दार्जिलिंगे सङ्गीतकारका गीतहरु लिएर पलेँटीमा प्रस्तुत हुँदैछु । यो कार्यक्रम मेरो जीवनका अत्यन्तै महत्वपूर्ण कार्यभित्र पर्छन् । पहिले झैँ यसपल्ट पनि दर्शक, श्रोताको माया पाउनेमा पूर्ण विश्वास छ ।’ मन्द मुस्कानमा देखिएका दुर्गाको दृष्टि हार्मोनियमका पर्दामाथि परिरहेको देखिन्छ ।
पलेँटी कार्यक्रम यही मार्च महिनाको अन्तिम शुक्रबार; २७ र २८ तारिख; शनिवारका दिन आयोजना हुनेछ । कालिकास्थानस्थित नेपालयको ‘आर’शालामा हुने यस कार्यक्रमको टिकेट www.paleti.com.np मा प्रवेश गरेर अनलाइनबाट नै प्राप्त गर्न सकिन्छ ।
‘आर’शालामा उपस्थित हुन असमर्थ सङ्गीतप्रेमीका निम्ति अनलाइनबाटै प्रत्यक्ष हेर्न Pay-Per-View को व्यवस्था गरिएको छ । त्यसका निम्ति पलेँटीको वेभ साइटमा रहेको Purchase Live Access बटनमा क्लिक गरेर आफ्नो वालेट प्रयोग गर्नुपर्ने हुन्छ ।

प्रकाशित मिति : ७ चैत्र २०८२, शनिबार १८:२१