पुस्तक जलाइएको छैनः मनमोहन प्राविधिक विश्वविद्यालय
४ चैत, काठमाडौँ । मनमोहन प्राविधिक विश्वविद्यालयले सामाजिक सञ्जालमा फैलिएको “महत्त्वपूर्ण पुस्तक तथा सामग्री नष्ट गरिएको” भन्ने आरोपप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ।
विश्वविद्यालयद्वारा जारी प्रेस विज्ञप्तिअनुसार संस्थाको परिसरमा रहेको एक कक्षमा विगत लामो समयदेखि प्रयोगमा नरहेका सामग्री तथा कबाडी सामानहरू थन्किएको अवस्थामा रहेको थियो । सोही स्थानमा सिभिल इन्जिनियरिङ विभागको केही नयाँ संरचना निर्माण गर्ने तयारीका लागि उक्त कक्ष खाली गरी सरसफाइ तथा व्यवस्थापन गरिएको जनाइएको छ।
विज्ञप्तिमा सरसफाइका क्रममा पूर्ण रूपमा बिग्रिएका तथा प्रयोग गर्न नसकिने सामग्री हटाउने क्रममा केही पुस्तकहरू पनि नष्ट भएको स्वीकार गरिएको छ। तर राम्रो अवस्थामा रहेका पुस्तक तथा अन्य सामग्रीहरू भने सुरक्षित रूपमा छुट्याइएको विश्वविद्यालयले स्पष्ट पारेको छ ।
साथै, सामाजिक सञ्जालमा देखाइएजस्तो कुनै विशेष वा मूल्यवान् पुस्तक लक्षित गरी नष्ट गरिएको नभएको विश्वविद्यालयको दाबी छ ।विश्वविद्यालयले यस्ता भ्रामक सूचनाबाट भ्रममा नपर्न पनि सबैलाई अनुरोध गरेको छ।

प्रकाशित मिति : March 18, 2026 at 8:32 am









