२९ फाल्गुन २०८२, शुक्रबार | Fri Mar 13 2026

चीनले इरानी स्कुल आक्रमण पीडितलाई दुई लाख डलर सहयोग दिने

२९ फागुन , बेइजिङ । चीनले मध्यपूर्व युद्धको सुरुआतमा इरानको एक विद्यालयमा भएको घातक क्षेप्यास्त्र आक्रमणमा मारिएका विद्यार्थीका अभिभावकलाई दुई लाख डलर मानवीय सहयोग दिने जनाएको छ ।

इरानले अमेरिका र इजरायलमाथि युद्धको पहिलो दिन दक्षिण इरानस्थित उक्त विद्यालयमा आक्रमण गरेको आरोप लगाएको छ । स्थानीय सञ्चार माध्यमका अनुसार आक्रमणमा मारिएका कम्तीमा १६५ जनाको अन्त्येष्टि गरिएको थियो । घटनाको स्वतन्त्र पुष्टि भने उपलब्ध छैन र अमेरिकी सेनाले अनुसन्धान जारी राखेको छ ।

बेइजिङको विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले विद्यालय र बालबालिकामाथि हुने आक्रमण अन्तर्राष्ट्रिय मानवीय कानूनको ‘गम्भीर उल्लङ्घन’ भएको बताउनुभयो । उहाँले भन्नुभयो, “यो मानव विवेक र नैतिकताको आधारलाई उल्लङ्घन गर्ने कार्य हो । चीन यस कठिन समयमा इरानी जनतालाई सहयोग गर्न तयार छ ।”

चिनियाँ रेड क्रस सोसाइटीले उक्त सहयोग इरानी रेड क्रिसेन्टमार्फत मृत विद्यार्थीका अभिभावकलाई ‘समवेदना र क्षतिपूर्ति’ स्वरूप उपलब्ध गराउनेछ ।

न्युयोर्क टाइम्सले अमेरिकी सैन्य अनुसन्धानमा अमेरिकी टोमहाक मिसाइलले गल्तीले विद्यालयमा प्रहार गरेको रिपोर्ट प्रकाशित गरेको छ । इजरायलले यस आक्रमणसँग कुनै सम्बन्ध नरहेको बताएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सुरुमा इरान आफैँ जिम्मेवार हुन सक्ने सुझाव दिनुभएको थियो भने पछि ‘म अनुसन्धानले देखाउने नतिजा अनुसार प्रतिक्रिया दिनेछु’ भन्दै थप स्पष्टता दिनुभएको थियो ।

प्रकाशित मिति : २९ फाल्गुन २०८२, शुक्रबार १७:१७