विवेकको मत: भावनाको लहर कि भविष्यको जग ?
-गोपिप्रसाद कडेँल
हाम्रो समाजमा एउटा सुन्दर भनाइ छ रत्तदान जीवनदान हो। तर, मतदान ? मतदान त भविष्यदान हो । रगतले एउटा व्यक्तिलाई नयाँ जीवन दिन्छ, तर एउटा सही छापले आउने कैयौँ पुस्ताको भाग्य कोर्छ । त्यसैले, मतदान गर्दा केवल आफ्नो वर्तमान मात्र होइन, आफ्ना सन्तानका आँखामा झल्किने सपनाको पनि ख्याल गरौँ । कसले कति मीठो बोल्यो भन्दा पनि कसले कति जिम्मेवारीपूर्वक काम गर्यो त्यो नै हाम्रो छनोटको आधार हुनुपर्छ।
नेतृत्व भनेको कुनै सजावटको वस्तु होइन; यो त आँधीको बेला जहाजलाई सुरक्षित किनारमा पुर्याउने ‘कला र विज्ञान’ दुबै हो । जसले हिजो केही गरेको छैन, उसले भोलि चमत्कार गर्छ भन्नु केवल आत्मरति मात्र हो । क्षमताको परीक्षण शब्दमा होइन, कर्मको कसीमा गरिनुपर्छ ।
१. सपनाको मृगतृष्णा र वास्तविकताको कसी
रामायणमा सीता माताले सुनको मृग देख्नुभयो। त्यो देख्नमा लोभलाग्दो र आकर्षक थियो, तर अन्ततः त्यो एउटा छल र विनाशको जाल बन्यो। राजनीतिमा पनि कहिलेकाहीँ यस्तै ‘सुनौला मृग’ जस्ता आश्वासनहरू बाँडिन्छन्। कसैले सपना बाँड्न सक्छ, कसैले शब्दको जाल बुन्न सक्छ। तर याद राखौँ शब्दले पेट भरिँदैन र नाराले देश बन्दैन। हामी कतै आकर्षक नाराको रावण-जालमा त परिरहेका छैनौँ? अब विचार गर्ने समय आएको छ।

२. विशेषज्ञताको मूल्य: भावनाभन्दा माथि क्षमता
हामी बिरामी हुँदा सबैभन्दा अनुभवी डाक्टर खोज्छौँ। छोराछोरी पढाउन योग्य शिक्षक खोज्छौँ। घर बनाउन अनुभवी इन्जिनियर र मुद्दा लड्न चतुर वकिल खोज्छौँ।
• के हामीले कहिल्यै सोचेका छौँ एउटा सानो जहाज उडाउन त अनुभवी पाइलट चाहिन्छ भने, करोडौँ मानिस बोकेको ‘देश’ नामको जहाज हाँक्न कस्तो चालक चाहिन्छ होला ?
• जहाँ जिम्मेवारी ठूलो हुन्छ, त्यहाँ केवल ‘इच्छाशक्ति’ भएर पुग्दैन, ‘क्षमता’ र ‘अनुभव’ को सही सन्तुलन चाहिन्छ।
३. परीक्षण र चयन: कस्को क्षमता कति ?
बोल्नु र गर्नुमा आकाश-पातालको फरक हुन्छ। सुगाले मान्छेको जस्तै बोली त निकाल्छ, तर उसले मान्छेको जस्तो समस्या समाधान गर्न सक्दैन। नेतृत्व भनेको केवल मञ्चमा उभिएर गरिने गर्जन होइन, यो त संकटमा लिइने सही निर्णय र प्रतिकुलतामा देखाइने धैर्यता हो।
कसले के-के बोले भन्दा पनि कसले के-के गरे र गर्न सक्ने आधार के हो? भन्ने कुरा मुख्य हो। हामीले व्यक्ति होइन, विधिको र अनुहार होइन, क्षमताको छनोट गर्न सिक्नुपर्छ।
४. तपाईँको एउटा निर्णय, देशको गन्तव्य
देश चलाउनु कुनै प्रयोगशालाको प्रयोग होइन, यो त इतिहास निर्माणको प्रक्रिया हो। त्यसैले, भावनामा बहकिएर वा कसैको मीठो बोलीको दास बनेर होइन, गहिरो विवेचना गरेर आफ्नो मतको प्रयोग गरौँ।
याद राखौँ सक्षम हातमा परेको एउटा सानो कलमले सुन्दर नक्शा, भविष्य लेख्न सक्छ, तर गलत हातमा परेको त्यही कलमले भविष्य नै मेटिदिन सक्छ।
लेखक कडेँल हस्तकला र कृषि उद्यममा सक्रिय हुनुहुन्छ । उहाँसँग फेसबुक मार्फत पनि अन्तरक्रिया गर्न सकिन्छ ।
प्रकाशित मिति : १४ फाल्गुन २०८२, बिहीबार ०७:२१










