रुपन्देही-३ मा जसपा नेपालका उम्मेदवार एमाले प्रवेश
४ फागुन, काठमाडौं । रुपन्देही–३ मा जनता समाजवादी पार्टी (जसपा) नेपालका तर्फबाट प्रतिनिधि सभा सदस्य श्रीनिवास यादवले उम्मेदवारी फिर्ता लिनुभएकाे छ ।
उहाँले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै पार्टीको साधारण सदस्यसहित सम्पूर्ण जिम्मेवारी परित्याग गर्दै नेकपा (एमाले) मा समाहित भएको घोषणा पनि गर्नुभएकाे छ ।
प्रचलित कानुन अनुसार उम्मेदवारी दर्ता गरी मतदाताको घरदैलोमा पुगेको उल्लेख गर्दै वर्तमान विषम राष्ट्रिय परिस्थितिमा मुलुकको राजनीतिक स्थायित्व र निकासका लागि एमाले नै प्रमुख राजनीतिक शक्तिका रूपमा स्थापित हुने विश्वाससहित एमालेलाई रोजेको उहाँले विज्ञप्तिमार्फत उल्लेख गर्नुभएकाे छ ।
“देश, जनता र राष्ट्रप्रति वफादार बन्दै आजका मितिदेखि जनता समाजवादी पार्टी (जसपा), नेपालको साधारण सदस्यसहित सम्पूर्ण जिम्मेवारी परित्याग गर्दै मेरो उम्मेदवारीसमेत फिर्ता लिँदै नेकपा (एमाले) मा समाहित भएको घोषणा गर्दछु,” विज्ञप्तिमा उल्लेख छ ।
एमाले प्रवेश गर्नुभएकाे उहाँलाई नेकपा (एमाले) रुपन्देहीका अध्यक्ष यज्ञ गैरे, नेताहरू भुमिश्वर ढकाल, गोमादेबी आचार्य, भरत पोख्रेल, राजेन्द्र पन्थी ,प्रमोद यादब, हरिप्रसाद अधिकारी, उमा काफ्ले, अनुप बराललगायतले पार्टीमा स्वागत गर्नुभएकाे थियाे ।

प्रकाशित मिति : ४ फाल्गुन २०८२, सोमबार ११:५३










