भारतीय र पाकिस्तानी बीचको क्रिकेटमा पाकिस्तानी टिम विजयी
एडिलेड । साउथ अष्ट्रेलियाको एडिलेडमा भएको सार्क राष्ट्रका चार देशको प्रतिनिधित्व गर्ने सामुदायिक क्रिकेट क्लवहरुको फाईनलमा छ रनले पाकिस्तानी टिम बिजयी भएको छ ।
एडिलेड नेप्लिज क्रिकेट एशोशियसन एन्काद्धारा आयोजित महिला क्रिकेटको फाइनल खेल, जसमा विश्व हिन्दु परिषद क्रिकेट क्लव र एडिलेड पाकिस्तानी मल्टिकल्चर ग्रुप बिच भएको थियो ।

यस एलसिए एन्का फ्रेन्डसिप कप २०२६ को फाईनलमा पहिला व्याटिङ गर्दै एडिलेड पाकिस्तानी मल्टिकल्चर ग्रुपले ८९ रन बनाएको थियो । भने निर्धारित ओभवरमा जवाफी व्याटिङ गरेको विश्व हिन्दु परिषद क्रिकेट क्लवले ८६ रन मात्र बनाउन सफल भएको थियो ।
प्रतियोगितामा पाकिस्तानी टोलीकी मोनेमा यावर उत्कृष्ट खेलाडी घोषित भएकी थिइन ।
एन्काले क्रिकेट खेलकुदमा महिलाहरुको थप विकासका लागि गत बर्षबाट यस किसिमको प्रतियोगिता गर्दै आएको छ । यस बर्ष विश्व हिन्दु परिषद क्रिकेट क्लव, एडिलेड पाकिस्तानी मल्टिकल्चर ग्रुप, नेपाली टिम एन्का सनसाईन र श्रीलंका सामुदायिक क्लव गरि चार टिम सहभागी थिए । प्रतियोगिता लिगका आधारमा खेलाएर फाईनलका लागि विश्व हिन्दु परिषद क्रिकेट क्लव, एडिलेड पाकिस्तानी मल्टिकल्चर ग्रुप छनौट भएका थिए ।
स्थानिय फोबोस प्राईमरी स्कुलको क्रिकेट मैदानमा आयोजित प्रतियोगिताको फाईनलमा विजेता तथा उपविजेताहरुलाई कप तथा मेडल प्रदान गरिएको थियो ।
पुरस्कार वितरण समारोहलाई सम्वोधन गर्दै एन्का अध्यक्ष बिजय जोशीले खेलाडी, सौजन्यकर्ता तथा सहयोगीहरुलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो । उहाले प्रतियोगिताको लक्ष्य प्रिमियर क्रिकेटका लागि प्रतिभाशाली महिला खेलाडीहरुको पहिचान र बिकास गर्नु भएको बताउनु भयो ।साथै उहाले क्रिकेटको शक्ति मार्फत साउथ अष्ट्रेलियामा रहेको बहुसांस्कृतिक समुदायलाई एकसाथ ल्याउनु भएको बताउनु भयो ।
एन्का कार्यसमिति सदस्य बिनिता जोशीले संचालन गर्नु भएको कार्यक्रममा विजेता टिम कप्तान सुबिया सोहेब र उप विजेता धारा धवनले आयोजकहरुलाई धन्यवाद ज्ञापन गर्दै बधाई साटासाट गर्नु भएको थियो ।
कार्यक्रममा महिला खेलकुद क्षेत्रमा क्रियाशिल तथा खेल पत्रकार जेनी सेमसङ, मुख्य प्रायोजक लिभेबिलिटी केयर अष्ट्रेलिया (एलसिय)को निर्देशक विक्की मार्कले खेलाडीहरुलाई बधाई तथा आयोजक एन्कालाई धन्यवाद दिदै सहयोग जारी राख्ने बताउनु भएको थियो ।![]()


प्रकाशित मिति : ३ फाल्गुन २०८२, आईतवार १८:४७










