३ फाल्गुन २०८२, आईतवार | Sun Feb 15 2026

नेप्सेले तोकेको ओपनिङ रेन्ज प्रति रिलायन्स स्पिनिङ मिल्सको असन्तुष्टि

३ फागुन, काठमाडाैं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)  ले निर्धारण गरेको ओपनिङ रेन्जप्रति रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले असन्तुष्टि जनाएको छ। कम्पनीले जारी गरेको विज्ञप्तिमा नेप्सेले पहिलो कारोबारका लागि प्रतिकित्ता १०० रुपैयाँदेखि ३०० रुपैयाँसम्मको मूल्य सीमा तोकेको उल्लेख गर्दै उक्त दायरा कम्पनीको वास्तविक वित्तीय अवस्था र मूल्यांकनसँग मेल नखाने जनाएको छ । कम्पनीका अनुसार यो सीमा अंकित मूल्यको करिब तीन गुणासम्म मात्र भएकाले बुक बिल्डिङ प्रक्रियाबाट तय भएको मूल्यभन्दा निकै कम रहेको जनाएको छ ।

कम्पनीका अनुसार नेपाल धितोपत्र बोर्ड ले बुक बिल्डिङ विधिअनुसार सेयर निष्कासनको अनुमति दिएको थियो। बुक बिल्डिङ आधुनिक मूल्य निर्धारण प्रक्रिया भएकाले सूचीकरणको प्रारम्भिक मूल्य पनि सोही आधारअनुसार हुनुपर्ने कम्पनीको दाबी छ।

कम्पनीले बुक बिल्डिङ प्रक्रियाबाट प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसामा आईपीओ जारी गरेको थियो। तर पहिलो कारोबारका लागि १ सयदेखि ३ सय रुपैयाँसम्मको दायरा तोकिएकोमा कम्पनीले आपत्ति जनाउँदै बुक बिल्डिङ विधिबाट तय भएको मूल्यलाई सम्मान गर्नुपर्ने धारणा सार्वजनिक गरेको छ।

प्रेस विज्ञप्तिअनुसार कम्पनीको प्रतिसेयर वास्तविक मूल्य रु. ९११ काल्पनिक नभई वित्तीय प्रक्षेपण र सम्भावनालाई आधार बनाएर निर्धारण गरिएको हो। योग्य संस्थागत लगानीकर्ताबीच सिलबन्दी बोलपत्रमार्फत रु. ६०८ देखि रु. ९११ सम्मको खरिद मूल्य कायम भएको कम्पनीले जनाएको छ।

बुक बिल्डिङ निर्देशिकाअनुसार संस्थागत लगानीकर्ताले तय गरेको मूल्यमा १० प्रतिशत छुट दिई सर्वसाधारणका लागि प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसामा सेयर बाँडफाँट गरिएको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासिक अपरिष्कृत वित्तीय विवरणअनुसार प्रतिसेयर नेटवर्थ रु. ४०४.७४ रहेको छ। यसले पनि उच्च मूल्याङ्कनलाई समर्थन गर्ने कम्पनीको दाबी छ।

कम्पनीले लगानीकर्तालाई प्रारम्भिक कारोबार मूल्य मात्र हेरेर निर्णय नगर्न र कम्पनीको वास्तविक वित्तीय अवस्था तथा दीर्घकालीन सम्भावनालाई ध्यानमा राखेर लगानी गर्न आग्रह समेत गरेको छ।

प्रकाशित मिति : ३ फाल्गुन २०८२, आईतवार १०:५९