घोषित जग्गा दान गर्न नसक्ने तर समुदायले अभियान शुरु गरे आर्थिक सहयोग गर्ने छु – रेनुका लामा
एडिलेड । २०२१ को एनआरएनए निर्वाचनमा नेपाली समुदायलाई जग्गा दानको घोषणा गर्नु भएकी एनआरएनए साउथ अष्ट्रेलियाकी तत्कालीन संयोजक पदको उमेदवार रेनुका लामाले नेपाली समुदायका लागि घोषणा गरिएको जग्गा दान पाँच वर्ष पछि प्राविधिक, कानुनी र आर्थिक जटिलताका कारण कार्यान्वयन नसक्ने बताउदै क्षमायाचना गर्नु भएको छ ।
शनिवार एनआरएनए साउथ अष्ट्रेलियाद्धारा आयोजित समुदाय संगको अन्तर्क्रिया कार्यक्रममा लामाले सो कुरा बताउनु भएको हो । उहाले आफ्नो जग्गा भएको क्षेत्रमा जग्गा टुक्राउने लगायतको प्रविधिक कामको प्रक्रिया जटिल र अनिश्चित रहेकाले समस्या आएको बताउनु भयो । लामाले रकम नखुलाईकन आफुले जग्गा दिन नसक्ने भए पनि नेपाली समुदायले सामुदायिक भवन वा मन्दिर बनाउन पहल गरेमा आर्थिक सहयोग गर्ने बताउनु भयो ।
सोहि अन्तरक्रियामा पुन्य फाउन्डेसनका डा. लक्ष्मी ढकालले भुटानी नेपाली समुदायले एडिलेडमा शुरु गरेको मन्दिर सहितको सामुदायिक भवन निर्माणका वारेमा प्रगति विवरण प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रममा साउथ अष्ट्रेलियाका लागि नेपाल सरकारका वाणिज्यदुत दिपक धमला, साउथ अष्ट्रेलिया सरकारको बहुसांस्कृतिक आयोग सदस्य मञ्जु खड्का, एनआरएनएका पुर्व तथा वर्तमान नेतृत्व, सहित विभिन्न संस्थाहरुका अगुवा तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
एनआरएनए साउथ अष्ट्रेलिया संयोजक थीर गुरुङको सभापतित्व र सचिव युवराज पहाडीको संचालनमा भएको कार्यक्रममा उपाध्यक्ष गणेश पराजुलीले स्वागत मन्तव्य राख्नु भएको थियो ।
स्थानिय एभरेष्ट इभेन्ट सेन्टरमा आयोजित कार्यक्रम दुई चरणमा सम्पन्न भएको थियो । जसको पहिलो चरणमा समुदायका अगुवाहरुले नव निर्वाचित एनआरएनएको टिमलाई सुझाव तथा सल्लाहहरु प्रदान गर्नु भएको थियो । भने दोस्रो चरणमा साउथ अष्ट्रेलियामा नेपाली सामुदायिक भवन निर्माणका वारेमा छलफल गरिएको थियो । जसमा अगुवाहरुले सामुदायिक भवनको आवश्यकता र निर्माणको प्रक्रिया वारेमा धारणा राख्नु भएको थियो ।
कार्यक्रम समापन गर्दै संयोजक गुरुङले एनआरएनए साउथ अष्ट्रेलियालाई दिएको सुझावहरुलाई ग्रहण गर्ने बताउदै दोस्रो चरणमा उठेको सामुदायिक भवन निर्माण वारेमा एनआरएनएले सहजकर्ताको भुमिका मात्र खेल्दै पुन समुदाय अगुवाहरुको बैठक बोलाउने र त्यहि बैठकको निर्णय बमोजिम अगाडि बढ्ने बताउनु भयो ।

प्रकाशित मिति : २४ माघ २०८२, शनिबार १८:०४








