७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026

सिटिजन्स बैंकको नाफा घट्यो, वितरणयाेग्य नाफा पनि ऋणात्मक

१४ माघ, काठमाडाैं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकले ३५ करोड ८८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४५.७८ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ६६ करोड १८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २.२८ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी ३.२४ प्रतिशत घटेको छ। बैंकको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा ४.६८ प्रतिशत बढेको छ। समीक्षा अवधिमा बैंकको खराब कर्जा ४.८५ प्रतिशतबाट बढेर ६.८६ प्रतिशत पुगेकाे छ ।

१५ अर्ब ५० करोड ७४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ७ अर्ब ७२ करोड रुपैयाँ सञ्चित छ। सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब १० करोड रुपैयाँ ऋणात्मक रहेको छ भने वितरणयोग्य प्रतिसेयर आम्दानी १४ रुपैयाँ १९ पैसा ऋणात्मक रहेको छ। समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ४ रुपैयाँ ३३ पैसा घटेर ४ रुपैयाँ ६३ पैसामा झरेको छ। पुस मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात ४१.६८ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १४९ रुपैयाँ ७९ पैसा रहेको छ।

प्रकाशित मिति : January 28, 2026 at 10:47 am