१२ माघ २०८२, सोमबार | Mon Jan 26 2026

सिंचाइ, सडक र सुशासनका मुद्दासहित गाउँ पसे उम्मेदवार

-दीपक बोहरा/रासस

तुलसीपुर (दाङ), १२ माघः दाङ क्षेत्र नं ३ का उम्मेदवारहरू आ–आफ्ना ‘एजेन्डा’ लिएर गाउँ–गाउँ जान थालेका छन् । उम्मेदवारहरूले कार्यकर्ता तथा मतदातालाई भेटघाट गर्न थालेका छन् । कांग्रेसका उम्मेदवार दीपक गिरीले आफूले सिँचाइमन्त्री हुँदा बृहत् दाङ उपत्यका सिँचाइ आयोजना ल्याउन भूमिका खेलेको कुरा लिएर जनतामाझ जानुभएको छ ।

त्यस्तै पश्चिम दाङका सडक सञ्जालमा भूमिका खेलेको गिरीको भनाइ छ । त्यस्तै टरिगाउँ एयरपोर्ट विस्तारका लािग पनि पहल गरिरहेको उहाँको भनाइ छ । दाङलाई सबल र विकसित बनाउन आफ्नो उम्मेदवारी रहेको गिरीले बताउनुभयो । उहाँले आफ्नो उम्मेदवारी राष्ट्रियता तथा लोकतन्त्रलाई बलियो बनाउनका लागि रहेको बताउनुभयो । उहाँले युवा विदेश पलायन हुनुपर्ने अवस्था रहेको भन्दै यसलाई रोक्न पनि आफ्नो भूमिका खेल्ने बताउनुभयो ।

नेपालको संविधान संशोधन गरी जनता मैत्री संविधान बनाउने पनि उहाँको एजेन्डा छ । उहाँ २०५१ सालदेखि चुनाव लड्दै आउनुभएको छ । यद्यपि उहाँ अहिलेसम्म दुईपटक मात्रै निर्वाचित हुनुभएको छ । उहाँले २०७० सालको संविधानसभाको निर्वाचन र २०७९ सालको प्रतिनिधिसभा सदस्यमा जित्नुभएको छ ।

सडक र पुलको कुरा जनतामाझ लिँदै मास्की

नेपाली कम्युनिष्ट पार्टीबाट चुनावमा होमिएका धनबहादुर मास्की (राजेश) लुम्बिनी प्रदेशसभा सदस्यबाट राजीनामा दिएर प्रतिनिधिसभामा उम्मेदवारी दिएर हाल जनतामाझ हुनुहुन्छ । उहाँले त्यो उम्मेदवारी आफ्नो मात्रै नभई जनताको मागका रूपमा रहेको बताउनुभयो । आफू प्रदेशको अर्थमन्त्री हुँदा तथा सांसद हुँदा गहतेखोला सडक स्तरवृद्धि, भमकेखोला, बहुला खोलामा पुल निर्माणजस्ता कार्य गरेको भन्दै यी एजेन्डा लिएर जनतामाझ जानुभएको छ ।

त्यस्तै गाउँ–गाउँमा सडक, शिक्षा, स्वास्थ्यलगायत पूर्वाधार निर्माण गर्ने काम अघि बढाएको उहाँको भनाइ छ । “मैले चुनावका बेला माथिल्लो सडक स्तरवृद्धि, खोलामा पुल निर्माण जस्ता एजेन्डा बनाएको थिएँ, ती एजेन्डाअनुसार मैले काम गरेँ र परिणाम पनि देखियो”, उहाँले भन्नुभयोे ।

मास्कीले ग्वारखोलादेखि पश्चिमलाई सुन्दर पश्चिम दाङ बनाउने, दामोदर सडक स्तरवृद्धि, ग्वारखोला हाइड्याम्प, प्रादेशिक अस्पतालको स्तरवृद्धि, कृषि क्याम्पस निर्माण, तुलसीपुर–हापुरे चारलेन, राप्ती लोकमार्ग चारलेन बनाउनेजस्ता एजेन्डा लिएर जनतामाझ जान थालेको बताउनुभयो । उहाँ पहिलोपटक प्रदेशसभा सदस्य बन्नुभएको हो । त्योभन्दा अघि उहाँ कुनै पनि चुनाव लड्नुभएको थिएन ।

पूर्वप्रमुखको सांसद बन्ने चाहना

नेकपा(एमाले)बाट चुनावमा होमिएका घनश्याम पाण्डे २३ वर्षको उमेरमा नै तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख हुनुभएका व्यक्ति हुनुहुन्छ । २०५१ सालदेखि चुनावमा होमिँदै आएका पाण्डे तत्कालीन अवस्थामा उपप्रमुख बन्नुभयो । २०६४ र २०७० मा उहाँले चुनाव नलडे पनि २०७४ सालको स्थानीय तहको निर्वाचनमा उहाँ तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुखमा निर्वाचित हुनुभयो ।

नगर प्रमुख हुँदा आफूले गरेका काम नै चुनाव जित्ने आधार रहेको पाण्डे बताउनुहुन्छ । उहाँले मेट्रो कलेज स्थापना, अस्वारामा अस्पताल, तुलसीपुरमा व्यापारिक भवन निर्माणजस्ता परियोजनामा काम गरेको भन्दै ती कुरा लिएर जनतामाझ गएको बताउनुभयो ।

उहाँले दाङको समृद्धि र विकास, किसानको हक अधिकार सुनिश्चित, स्वरोजगार सिर्जना, टरिगाउँ विमानस्थल व्यवस्थिति, समृद्धि र विकासको हब, शिक्षा र स्वास्थ्य, प्रविधि, उद्यमशीलताको हबका रूपमा विकास गर्ने लक्ष्य राख्नुभएको छ । साथै उहाँले संसद्मा गएपछि संसदीय परम्परालाई जनतामा केन्द्रित गर्नुपर्नेमा पनि जोड दिनुभएको छ । निर्वाचन क्षेत्र भित्रका जनताका समस्यालाई पहिचान गरी समाधान गर्नेतर्फ संसद्लाई केन्द्रित गर्ने उहाँको योजना छ ।

सुशासन र डेलिभरीको मुद्दा लिएर जनतामा सुवेदी

राष्ट्रिय स्वतन्त्र पार्टीबाट चुनावी मैदानमा होमिएका कमल सुवेदी यसअघिको निर्वाचनमा पनि उम्मेदवार हुनुहुन्थ्यो । उहाँले हाल सुशासन र डेलिभरीको मुद्दालाई अघि सार्नुभएको छ । अबको समृद्धि नयाँ दल नै गर्ने दाबी गर्दै उहाँ ती ऐजन्डा लिएर जनतामाझ जानुभएको छ । युवा पुस्तालाई स्वरोजगार सिर्जना गर्ने, सुशासन कायम गर्ने, विकास निर्माणलाई तीव्रता दिने उहाँका एजेन्डा छन् ।

अन्य उम्मेदवार पनि चुनावी मैदानमा

दाङ–३ मा राष्ट्रिय जनमोर्चाले कमला जिसी, मङ्गोल नेसनल अर्गनाइजेसनले घनश्याम चौधरी, मितेरी पार्टीले सन्तोष सिंह, जनता समाजवादी पार्टीले शोभा डाँगी, आम जनता पार्टी (एकल चुनाव चिह्न)ले पाण्डवी नेपाली, नेसनल रिपब्लिक नेपाल पार्टीले प्रितम चौधरीलाई उम्मेदवार बनाएको छ ।

त्यस्तै संयुक्त नागरिक पार्टीले दलवीर कामी, श्रम संस्कृति पार्टीले टोपबहादुर महतारा, नेकपा (माओवादी)ले बलबहादुर वली, नागरिक उन्मुक्ति पार्टीले महेश चौधरीलाई उम्मेलवार बनाएको छ । त्यस्तै स्वतन्त्रबाट भागिराम चौधरी, सुरेश नेपाली, प्रेमबहादुर वली, महेश डाँगी, यमबहादुर बस्नेत, भरत परियार, इन्द्रबहादुर बस्नेत र सिप्रिक कँडेलले उम्मेदवारी दिनुभएको छ । उहाँहरूले पनि आफ्ना एजेन्डा लिएर जनतामाझ जानुभएको छ ।

विसं २०७९ को समानुपातिक मत हेर्दा कांग्रेस र एमाले थोरै मतले मात्रै तलमाथि छ । कांग्रेसले २६ हजार ५७७ मत ल्याएको छभने एमालेले २६ हजार ११७ मत ल्याएको छ । सोही निर्वाचन क्षेत्रमा रास्वपाले १४ हजार ४१० समानुपातिक मत ल्याउँदा तत्कालीन माओवादी केन्द्रको १० हजार ९२५ र एकीकृत समाजवादीको ६९१ मत छ ।

प्रकाशित मिति : १२ माघ २०८२, सोमबार १२:२९