११ माघ २०८२, आईतवार | Sun Jan 25 2026

टेस्लाको भिडियो डिलिट गरेर सुजनको स्पष्टिकरणः एमाले हुँ म बालेनलाई चिन्दिन

११ माघ, काठमाडाैँ । अनेरास्ववियुका निवर्तमान अध्यक्ष सुजन कडरियाले टेस्ला चढेको भिडियो टिकटकबाट गायब बनाएर फेसबुकबाट स्पष्टिकरण दिनुभएको छ । दैनिकीमा केपी ‘ओली हराउन हिँडेका बालेन शाह सुजन कडरियाको टेस्लामा हुइँकिएपछि…’ शीर्षकको समाचार प्रकाशित भएपछि कडरियाले टिकटबाट टेस्ला हुइँक्याएको भिडियो गायब बनाएर फेसबुक मार्फत स्पष्टिकरण दिनुभएको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह बालेनले चढेको ल्याण्डरोभरको विवाद अन्त्य नहुँदै एमालेको झण्डै केन्द्रीय सदस्य हुनुभएको युवा नेता कडरियाको गाडीमा बालेन  हुँइकिनुभएपछि दैनिकीले समाचार प्रकाशित गरेको थियो ।

कडरियाको ४४०६ नम्बरको टेस्ला बालेन लिन शनिबार साँझ विमानस्थल पुगेको थियो । दैनिकीले बालेनले चढेको टेस्ला र कडरियाले चढ्ने गरेको टेस्लाको भिडियो नै राखेर समाचार प्रकाशित गरेको थियो । बालेन लिन सुजनको भाइ सुशिल विमानस्थल पुग्नुभएको थियो ।

कडरियाले बालेनसँग कुनै चिनजान नभएको तर नम्बर प्लेट मिलेको भनेर पूर्वाग्रह राखेको दाबी गर्नुभएको छ । यद्यपी उहाँले स्पष्टिकरणको अन्त्यमा बालेनसँग भाइको व्यक्तिगत सम्बन्ध रहेको र त्यसको भाइको निजी मामिला रहेको दाबी गर्नुभएको छ । उहाँले टेस्ला कस्को भनेर खुलाउनु भएको छैन ।

कडरियाको टिप्पणी र भिडियो देखाउन दिएको चुनाैति ।

कडरियाले सयाैँको बधाइ खाएको टेस्ला हुइँकाएको भिडियो किन डिलिट गरेको भनेर पनि केही खुलाउनु भएको छैन । उहाँले समाजिक सञ्जालमा प्रतिक्रिया दिनेहरूमाथि जवाफ दिँदै भिडियो देखाउन चुनाैति दिनुभएको छ भने पछि भिडियो लिंक नै उपलब्ध गराइदिएपछि भने त्यसमा कुनै प्रतिक्रिया जनाउनुभएको छैन । टिकटकबाट कडरियाले भिडियो डिलिट गरेपछि एमाले वृत्तमा भने थप शंका फैलिएको छ ।

कडरियाले दिएको स्पष्टिकरणमा यस्तो उल्लेख गरिएको छ, ‘यस्ता वाहियात मिडियाको पछाडि लागेर नझुक्किनुहुन हार्दिक अपिल गर्दछु। मैले अहिलेसम्म बालेनलाई भेटेको पनि छैन। मेरो कुनै टेस्ला गाडी पनि छैन। मेरो गाडी एएनवाई (ANY) हो। एउटा रातो गाडी अगाडि मेरो फोटो राखेर नम्बर प्लेट मिल्यो भन्दै पूर्वाग्रहपूर्ण ढङ्गबाट प्रकाशित समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ। यसअघि पनि चिन्दै नचिनेको बालेनको मन्त्री बन्न अखिलबाट राजीनामा भन्ने शीर्षकमा समाचार प्रकाशन भएपछि मैंले व्यक्तिगत रूपमा अत्यधिक आलोचना सहनुपरेको थियो। त्यसबाट भएको क्षति कदापि माफ हुन सक्दैन। आज यस्तै सस्तो लोकप्रियतामा चल्ने मिडियाका कारण यथार्थ बुझ्न झन् गाह्रो भएको छ। बालेनसँग मेरा साथीभाइहरूको सम्बन्ध छ, भन्ने त्यो नितान्त उनीहरूबीचको व्यक्तिगत सम्बन्ध हो। मेरो भाइको सम्बन्ध पनि उसको निजी मामिला हो र पारिवारिक रूपमा पनि हामी सँगै बस्दैनौँ। म बालेनलाई व्यक्तिगत रूपमा चिन्दिनँ, र त्यो मेरा लागि आवश्यक पनि छैन।म सधैँ नेकपा एमाले र श्रद्धेय अध्यक्ष केपी शर्मा ओलीको समर्थक हुँ। म एमालेको कार्यकर्ता हुँ र रहनेछु।’

स्मरणीय के छ भने कडरियाले एउटा अन्तर्वार्तामा एमाले बन्न बालेनको बिरोध गर्नैपर्छ भन्ने नरहेको बताउनुभएको थियो । जेन्जी विद्रोहपछि अनेरास्ववियुको अध्यक्षबाट राजीनामा दिनुभएको उहाँ पछि सुशीला कार्की सरकारको शिक्षा मन्त्री बन्न लागेको चर्चा समेत भएको थियो । कडरिया नेकपा एमाले निकट निर्माण व्यवसायी कमल कडरियाको छोरा हुनुहुन्छ । तीन छोरा मध्ये एक अमेरिका दुइ नेपालमै हुनुहुन्छ ।

सुजनले डिलिट गरेको भिडियो र बालेनले टेस्ला प्रयोग गरेको भिडियो तल हेर्न सक्नुहुन्छ ।

प्रकाशित मिति : ११ माघ २०८२, आईतवार १४:३३